काठमाडौं।  उपराष्ट्रपति चयनका लागि शनिबार संसद्मा हुने निर्वाचनमा चार जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनले एकीकृत नेकपा माओवादीका पूर्व लडाकु कमान्डर नन्दकिशोर पुनको उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अमियकुमार यादवको उम्मेदवारी दर्ता गराएको छ ।

यसैगरी स्वतन्त्र सांसद अतहर कमाल मुसलमानले पनि उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी परिवार दलका दयाराम कंडेलले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि शुक्रबार १० बजेदेखि १ बजेसम्मको समय तोकेको थियो । संसद् सचिवालयले साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गर्ने, २ बजे उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने र साढे २ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय निर्धारण गरेको छ ।

त्यसैगरी ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र शनिबार ११ बजेदेखि २ बजेसम्म संसद्मा गोप्य मतदान हुने, साढे २ बजे मतगणना र अपराह्न ५ बजे निर्वाचन परिणाम व्यवस्थापिका संसद्मा घोषणा गर्ने निर्वाचन तालिकामा उल्लेख छ ।