एजेन्सी। एसियन क्रिकेट काउन्सिल (एसिसी) ले एसियाको एसोसिएट राष्ट्रको स्तर वृद्धि गर्न सन् २०१७ मा इमर्जिङ नेसन्स कप क्रिकेट प्रतियोगिता आयोजना गर्दै छ । यसमा भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को सहयोग रहनेछ ।

एसिसीले सिंगापुरमा सम्पन्न बैठकले इमर्जिङ नेसन्स कप आयोजना गर्न लागेको जनाएको छ । प्रतियोगितामा टेस्ट मान्यताप्राप्त भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले आफ्ना ए टोलीलाई पनि सहभागी गराउने बिसिसिआईका सचिव अनुराग ठाकुरले एसिसीको वेब पोर्टरमा जानकारी दिएका छन् ।

‘एसियाका टेस्ट मान्यताप्राप्त राष्ट्र भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाको ए टोलीले पनि इमर्जिङ नेसन्समा भाग लिनेछन्,’ ठाकुरले भने ।

इमर्जिङ नेसन्समा तीन सिनियर खेलाडी अनिवार्य हुनुपर्नेछ । ‘एसोसिएट राष्ट्रको क्षमता अभिवृद्धि गर्न र एक्सपोज गराउनका लागि इमर्जिङ नेसन्स आयोजना गर्न लागेका हौँ, हामीले टेस्ट खेल्ने राष्ट्रका तीन सिनियर खेलाडी समावेश हुनुपर्ने भनेका छौँ,’ ठाकुरले भने, ‘चारै टेस्ट राष्ट्रले इमर्जिङ नेसन्समा भाग लिने राजी भइसकेका छन् ।’ एसियाका एसोसिएट राष्ट्रमा नेपाल, अफगानिस्तान र ओमन हुन् ।

प्रतियोगिामा नेपाल, अफगानिस्तान र ओमनले आफ्नो सिनियर टोलीलाई प्रतिस्पर्धा गराउनेछन् । उदीयमान एसोसिएट राष्ट्रलाई एकदिवसीयको स्तरसम्म पुर्‍याउन इमर्जिङ नेसन्सजस्तो प्रतियोगिता आवश्यक भएको बिसिसिआईका सचिव ठाकुरको भनाइ छ ।