काठमाडौं। चीनले अनुदानमा दिने भनेको पेट्रोल ढुवानीका लागि आवश्यक ट्यांकरको चाजोपाजो मिलाउन नसक्दा राजधानी आइपुग्न अझै कम्तीमा एक साता लाग्ने भएको छ ।

चीनले ट्याङकर, चालक र सहचाकलको बिवरण मागिरहेको छ भने ढुवानी व्यवसायीले उनीहरुको सुरक्षा र विमाको माग गरिरहेका छन् । अब सरकारले एका तर्फ चीनलाई ट्याङकर, चालक र सह चालकको विवरण पठाउनुपर्ने छ भने अर्को तर्फ स्वदेशी व्यवसायीलाई ढुवानीका लागि रिझाउनुपर्नेछ ।

नेपाल आयल निगमले ढुवानी व्यवसायीसंग ट्यांकरको नम्बर, चालक र सह चालकको विवरण मागिरहेका रहेको छ । उक्त विवरण आएपछि त्यसलाई निगमले चीन पठाउने छ । ‘इन्धन ढुवानी गर्नका लागि चालक/सहचालकको कागजी प्रक्रिया, बिमा, रुट प्रमिट लगायत मिलाउनु छ ।

सबै प्रक्रिया पुरा गरेर चीनलाई पठाउने छौ,’ निगमका प्रवक्ता दिपक बरालले भने, ‘त्यसपश्चात ढुवानी गर्न बाटो खुल्ने छ ।’ उनले सबै कागजातहरु व्यवसायीहरुसँग मगाएको बताए । ढुवानी गर्न जाने सबैको बिबरण सत्यतथ्य हुनुपर्छ । बिवरण अनुसार उपस्थित नहुँदा बोर्डरबाट प्रबेश गर्न पाइदैन ।

चिनबाट पहिलो पटक आयात गर्न लागेकाले सबै प्रक्रिया मिलाउन अनिवार्य भएको निगमले जनाएको छ । सहयोग स्वरुप आउने इन्धन केरुङ नाकाबाट आउँछ । चीन सरकारको पूर्ण स्वामित्वमा रहेको चाइना नेशनल पेट्रोलियम कर्पोरेशनबाट लासा हुदै केरुङ नाकामा पठाउछ ।

निगमका अनुसार चीनले युरो-४ मापदण्डको पेट्रोल दिने बताएको छ । निगमले आइओसीबाट युरो-३ मापदण्डको पेट्रोल आयात गरिरहेको छ ।