काठमाडौ ।संघीय मधेशी मोर्चाले सरकारसामु १ सय २ बुँदे संविधान संशोधन प्रस्ताव पेश गरेको छ। नेपाल सद्भावना पार्टी नेतृत्वको पाँच दलीय मोर्चाले मंगलबार अपरान्ह सिंहदरबारमा सरकारी वार्ता टोलीसामु १ सय २ बुँदे संविधान संशोधन प्रस्ताव पेश गरेको हो।

प्रस्तावमा सरकारी कामकाजमा नेपालीका अलावा हिन्दी र अंग्रेजी भाषा प्रयोग गरिनुपर्ने, राष्ट्रिय गानमा मधेश शब्द थप गरिनुपर्ने, चक्रिय प्रणालीका आधारमा प्रधानमन्त्रीको निर्वाचन गरिनुपर्ने, ७ प्रदेशको सीमांकनमा हेरफेर गरिनुपर्ने लगायतका माग गरिएको छ।

मोर्चाका संयोजक अनिल झाले संविधानमा धेरै कुरा छुटेका कारण संशोधन प्रस्ताव पेश गरेको बताए।

मोर्चाले मधेश आन्दोलनमा ज्यान गुमाएकाहरुलाई सहिद घोषणा गरी मृतकका परिवारका एक सदस्यलाई स्थायी सरकारी जागिर दिनुपर्ने, हिरासतमा रहेका आन्दोलनकारीलाई तत्काल रिहा गर्नुपर्ने, आन्दोलनमा घाइते भएकाहरुको निःशुल्क उपचार गरिनुपर्ने लगायतका ११ बुँदे मागपत्र पनि पेश गरेको छ। सरकारी वार्ता टोलीले मोर्चाको १ सय २ बुँदे संविधान संशोधन प्रस्ताव र ११ बुँदे मागपत्रका बारेमा अर्को वार्तामा छलफल गर्ने बताएपछि मोर्चाका नेताहरु परराष्ट्र मन्त्रालयबाट वाहिरिएका थिए ।