काठमाडौं ।संयुक्त मधेसी मोर्चामा आबद्ध चार दल राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएका छन्।

चारै दलका शीर्ष नेताहरू संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवबीच राष्ट्रपति निर्वाचनमा सहभागी नहुने सहमति भएको हो।

मोर्चाअन्तर्गतका दलहरू राष्ट्रपति निर्वाचनमा सहभागी नहुने जानकारी सद्भावनाका महामन्त्री मनीषकुमार सुमनले दिए। उनले भने, ‘हामी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सहभागी हुँदैनौं।’ तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीले पनि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा मोर्चाले मतदान नगर्ने बताए।
उनले भने, ‘मोर्चाले गत दुई महिनादेखि जारी राखेको आन्दोलनलाई निर्णायक गराउने कार्यक्रम केन्द्रित रहन्छ।’ आफूहरूलाई राष्ट्रपतिको निर्वाचनमा कुनै चासो र सरोकार नभएको उनले बताए।