काठमाडौं । चीनले नेपाललाई अनुदानको रुपमा दिने भनिएको एक हजार मेट्रिक टन इन्धन यसैसाता आइपुग्ने विवरणहरुबीच सरकारको तर्फबाट आफूलाई त्यसबारे कुनै प्रस्ताव नै नआएको नेपालमा इन्धन ढुवानी गर्ने संस्थाले बताएको छ।

इन्धन बोक्नुअघि निक्कै प्राविधिक तयारी चाहिने भन्दै सो संस्थाका महासचिवले त्यसले केही समय लिन सक्ने बताए।

नेपाल सरकारले ती इन्धन कुन नाकाबाट कसरी नेपाल भित्राउने जिम्मा नेपाल आयल निगमलाई दिएको बताएको छ।

भारतबाट नेपालमा नियमित रुपमा इन्धन ढुवानी गर्दै आएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अनुसार चीनबाट इन्धन ल्याउने विषयमा सरकारले अहिलेसम्म उसलाई कुनै आधिकारिक प्रस्ताव राखेको छैन्।

अध्ययन

प्रस्ताव आएमा सबैभन्दा पहिले हामीले बाटोको अध्ययन गर्नु जरुरी हुन्छ, कुन चाहिँ गाडी जान सक्छ वा कुन चाहिँ गाडी जानु उपयुक्त हुन्छ त्यो अध्ययन गरिन्छ

विश्वप्रसाद अर्याल, महासचिव, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ

महासंघका अनुसार यदि सरकारले प्रस्ताव राखेमा पनि त्यसको कार्यान्वयन गर्नु अगाडि थुप्रै अध्ययनहरु गर्नुपर्ने हुन्छ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्वप्रसाद अर्यालले भने, “प्रस्ताव आएमा सबैभन्दा पहिले हामीले बाटोको अध्ययन गर्नु जरुरी हुन्छ, त्यहाँ कुन स्तरको गाडी जानसक्छ, हामीसँग १० पांग्रे, ५ पांग्रे गाडी छन्, कुन चाहिँ गाडी जान सक्छ वा कुन चाहिँ गाडी जानु उपयुक्त हुन्छ त्यो अध्ययन गरिन्छ, त्यसपछि त्यहाँ जानका लागि आवश्यक कागजात जुटाउनुपर्छ।”

चीनले यसैसाता नेपाललाई अनुदानस्वरुप एकहजार मेट्रिक टन पेट्रोल दिने बताएको थियो।

कतिपय कुराहरु तय हुन बाँकी नै छ, इन्धन ल्याउने प्राविधिक विषयबारे आयल निगमलाई जिम्मा दिइएको छ

जीवराज कोइराला, सहसचिव, वाणिज्य तथा आपूर्ति मन्त्रालय

सरकारले पनि एक हप्ताभित्र इन्धन नेपाल ल्याउने भनिएपनि त्यो कुन मार्गबाट कसरी ल्याउने भन्ने बारेमा अहिलेसम्म कुनै निर्णय गरिनसकेको बताएको छ।

जिम्मा

उत्तरी छिमेकी चीनसँग सडक मार्ग जोडिएको दुई नाकामध्ये तातोपानी भूकम्पयता अवरुद्ध छ भने हालै रसुवागढी केरुङ नाका सञ्चालनमा आएको छ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइरालाले इन्धन ल्याउने प्राविधिक विषयको जिम्मा नेपाल आयल निगमलाई दिइएको बताए।

उनले भने, “इन्धन कसरी ल्याउने भन्ने बारेको प्रक्रियाबारे निश्चित भइसकेको छैन्, कतिपय कुराहरु तय हुन बाँकी नै छ, इन्धन ल्याउने प्राविधिक विषयबारे आयल निगमलाई जिम्मा दिइएको छ।”

निजी क्षेत्रका ट्यांकरहरुमार्फत भारतबाट इन्धन ढुवानी गर्दै आएको आयल निगमले चीनबाट कसरी इन्धन भित्र्याउनेबारे हालसम्म कुनै विवरण सार्वजनिक गरेको छैन्।-BBC