काठमाडौं  : भारतले एक महिनायता नेपालमाथि लादेको नाकाबन्दीप्रति युरोपेली युयियन (इयु) ले चिन्ता ब्यक्त गरेको छ । युरोपेली संसदद्वारा शुक्रबार जारी एक वक्तव्यमा नेपाल र भारतबीचको सीमानामा जारी अघोषित नाकाबन्दीप्रति चासो देखाइएको हो ।
‘भारतले नेपाललाई बिनाअवरोध सीमापार ब्यापार सुनिश्चित गर्न सहयोग गर्नुपर्छ । हामी भारतलाई यो आह्वान गर्छौं कि नेपालतर्फ आपूर्ति ब्यवस्थामा अवरोध सिर्जना हुनुहुँदैन ।’
इयुले भनेको छ ।
भारतीय नाकाबन्दीबारे औपचारिकरुपमा युरोपेली युनियनले पहिलोपटक बोलेको हो । नाकाबन्दीका कारण उत्पन्न इन्धन संकटका कारण पर्यटन क्षेत्र प्रभावित हुँदा नेपालको अर्थतन्त्र र धेरै जतनाको दैनिक जीवनमा गम्भीर असर परिरहेको इयुले जनाएको छ ।
वक्तव्यमा युरोपेली संसदको दक्षिण एसिया मामिला हेर्ने प्रतिनिधिमण्डलकी अध्यक्ष जँ लम्बर्टले विनाशकारी भूकम्पको पीडाबाट माथि उठ्न नपाउँदै नेपाली जनता अघोषित नाकाबन्दीबाट पीडित बनेकामा चिन्ता जनाएकी छिन् ।
युरोपेली संसदले नेपालमा नयाँ संबिधान जारी भएको सन्दर्भमा एक समारोह गरी नेपालमा उत्पन्न राजनीतिक परिस्थितीप्रति युरोपेली मुलुकहरुले क्षेत्रीयरुपमा ऐक्यबद्दता जनाउनुपर्नेमा जोड दिएकी छिन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारले आन्दोलनरत मधेशी दलहरुको मुद्दा संविधानमा संबोधन गर्न वार्ता जारी राखेकोमा उनले स्वागत गरेकी छिन् ।
नेपालमा जारी संबिधान आफूअनुकुल नभएकोमा रोष ब्यक्त गर्दै भारतले एक महिनायता नाकाबन्दी लादेपछि नेपालमा इन्धन र ग्यांसको चरम संकट उत्पन्न भएको छ ।
तर अझै पनि भारतले नाकाबन्दी हटाउने संकेत दिएको छैन । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुस्मा स्वराजलाई गतसाता भारत गएर सीमानामा भएको अवरोध खुलाउन र नाकाबन्दी अन्त्य गर्न आग्रह गरेपनि भारत अझै टसमस देखिएको छैन ।
भारतले रक्सौल नाका तत्काल खोल्न सम्भव नरहेको र अन्य सीमा नाकाहरुबाट पनि उपभोग्य सामान र इन्धन आउन नसक्ने जवाफ मन्त्री थापालाई दिएको थियो ।