काबुल : तालिवान आतङ्ककारीको बलियो प्रभाव रहेको अफगानिस्तानको हेलमान्ड प्रान्तमा तालिवानविरुद्ध त्यहाँको सुरक्षाबलले जारी राखेको कारबाहीमा परी कम्तीमा पनि १५७ भन्दा बढी तालिवान मारिएका छन् ।
अफगानिस्तानको राजधानी काबुलबाट ५५५ किलोमिटर टाढा रहेको दक्षिणी प्रान्त हेलमान्ड र लासकार घा सहरमा भएको सो कारबाही ती तालिवान मारिएका अफगानिस्तानको गृहमन्त्रालयद्धारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।
सो कारबाहीमा मारिएका ती तालिवानहरूमा कयौँ कमाण्डरहरू र एघार जना पाकिस्तानी नागरिकमसमेत रहेका जनाइएको छ ।
अफगानिस्तानको सेना र प्रहरीले तालिवान आतङ्ककारीका विरुद्धमा निरन्तर रूपमा कारबाही जारी राखेका छन् ।
अफगान सुरक्षाबलले यस कारबाहीको क्रममा हातहतियारहरू कब्जा गरेको बताइएको छ । यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको जनाइएको छ ।
प्राप्त समाचारअनुसार यसरी जारी राखिएको कारबाहीअन्तर्गत गएको २४ घन्टाभित्र गरिएको कारबाहीमा ती तालिवान मारिएका समाचारमा जनाइएको छ ।
अफगानिस्तानबाट नेटो सैनिकले तालिवानसँगको युद्धमा भाग नलिने भनी बिदा लिएको भए पनि दिनहुँजसो त्यहाँको सुरक्षाबलले आतङ्ककारीविरुद्ध कारबाही जारी राखेका छन् ।
अफगानिस्तानमा बाँकी रहेका नेटो सैनिकले तालिवानसँग युद्ध नगर्ने तर अफगान सुरक्षाबललाई तालिम र सल्लाह दिने बताइएको छ ।
नेटो सैनिकले युद्ध समाप्तिको घोषणा गरी अफगानिस्तान छोडेको बताए पनि युद्ध भने रोकिएको छैन । अहिले पनि दिनहुँजसो अफगानिस्तानका विभिन्न क्षेत्रमा कारबाहीका समाचारहरू आइरहेका छन् । एजेन्सी