अाठ जनाको ज्यान जाने गरी मंगलबार भएको बाँके बस दुर्घटनामा चालकको लापरबाही देखिएको प्रहरीले जनाएको छ। घाइतेहरुले दिएको बयानअनुसार चालकले दुवै हातले स्टेयरिङ छाडेर पानी पिउँदा दुर्घटना भएको दाङ, अमेलिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्योती शर्माले बताए।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँकेको खासकुस्मा गाविस-८ चपरगौरीमा भएको दुर्घटनामा बस पल्टिएर अागो लागेको थियो। बसमा ग्यास सिलिन्डर र पेट्रोल रहेकाले पल्टनासाथ अागो लागेको हो। ‘चालकले स्टेयरिङ छाडेर दुवै हातले पानी पिउँदा बस नियन्त्रण बाहिर गई राजमार्ग छेउमा पल्टियो,’ शर्माले भने।

उनका अनुसार बसभित्र २० देखि २५ जना यात्रु सवार थिए भने छतमा पनि उत्तिने संख्यामा थिए। दुर्घटना भएको करिब १५-२० मिनेटमा उद्दारका लागि घटनास्थल पुग्दा त्यहाँको दृश्य अत्यन्त डरलाग्दो भएको उनले जनाए।

उनका अनुसार बसमा ग्यासका सिलिन्डर र पेट्रोल पनि थियो जसका कारण बस पल्टिएलगत्तै आगो लाग्यो। आठ जनाको बसभित्रै जलेर मृत्यु भयो भने १२ जना घाइते भए। शर्माका अनुसार जलेर मृत्यु भएको शव चिन्नै नसक्ने अवस्थामा बाहिर निकालिएकाले डिएनए परीक्षणबाट मात्र शव पहिचान गर्न सकिनेछ। दुर्घटनामा कोही परे-नपरेको बुझ्न कोही आइनसकेकाले मृत्यु हुने को-को थिए भन्ने पत्ता लाग्न दुई-चार दिनको समय लाग्ने उनले बताए। दुर्घटना भएको बसचालकबारे बुझ्ने प्रयास भइरहेको पनि उनले जानकारी दिए।

‘चालक पनि बसभित्रै परे कि फरार छन् भन्नेबारे अनुसन्धान जारी छ। गाडीको नम्बर पत्ता लागेकाले आजभोलिमा त्यसको यकिन हुन्छ,’ उनले भने। बुटवलबाट नेपालगन्ज जाँदै गरेको लु१ख ५८२८ नम्बरको बस मंगलबार अपरान्ह ४ बजे दुर्घटना भएको थियो।

यसबीच प्रज्वलनशील इन्धन बोक्दा यस्तो भयानक दुर्घटना भएको ठहर गर्दै बाँके प्रहरीले यात्रुवाहक बसमा इन्धन बोक्न रोक लगाएको छ। भारतीय नाकाबन्दीले पेट्रोलियम अभाव भएपछि जहाँ भेट्यो त्यहाँ इन्धन किनेर यात्रुवाहक बसमै ओसार्ने प्रवृत्ति बढ्दो छ।