सिरिया। सिरियामा गरिएको हवाई आक्रमणमा इस्लामिक स्टेट (आइएस)का ४० लडाकू मारिएका छन् ।

सिरियन मानवअधिकार समूहका अनुसार हामा प्रान्तमा गरिएको उक्त आक्रमणमा थुप्रैं गाडी पनि ध्वस्त बनाइएको छ । हवाई आक्रमण रुस वा सिरियाले गरेको हुनसक्ने भए पनि अमेरिकी नेतृत्वको भने नभएको बताइएको छ ।

रुस पनि यसै महिनादेखि राष्ट्रपति बशर अल असदविरुद्ध रहेका समूहलाई निमिट्यान्न पार्न सिरियामा हवाई आक्रमणमा सरिक भएको छ । तर पश्चिमा मुलुकहरुले भने रुसी सहयोग इस्लामिक अतिवादी समूहलाई ठेगान लगाउनभन्दा पनि असदको सत्ताविरुद्ध विद्रोह गरिरहेका नरमपन्थीमाथि केन्द्रित रहेको भन्दै आलोचना गरिरहेका छन् ।

राष्ट्रपति असदविरुद्धको सिरियाली गृहयुद्धमा साँढे दुई लाखभन्दा बढी मानिस मारिइसकेका छन् भने एक करोडभन्दा बढी सिरियन आफ्नो घर छाडेर अन्यन्त्र पलायन भएका छन् । एजेन्सी