काठमाडौं । सरकार गठन भएको एकसातामा आइतबार थप ९ मन्त्रीहरुसहित मन्त्रिपरिषद् विस्तार भएको छ।

एकीकृत माओवादीबाहेक अन्य साना दुई दलबाट मन्त्रीहरुले आइतबार शपथ लिए पनि सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले भने आफ्नो तर्फबाट थप मन्त्रीहरुको नाम चयन गर्न सकेको छैन।

एमालेले भने धेरैवटा दलहरुलाई मिलाएर लैजानुपर्ने भएकोले मन्त्रालय बाँडफाँडबारे पार्टीभित्र आन्तरिक छलफल भइनसकेको भन्दै सरकारले छिट्टै पूर्णता पाउने बताएको छ।

सहभागी

अघिल्लो सोमबार गठन भएको सरकारमा आइतबार एकीकृत माओवादीका तर्फबाट सातजनासहित अन्य साना दलका दुई गरि ९ जना मन्त्री थपिएका हुन्।

यसअघि एकीकृत माओवादीबाट कृष्णबहादुर महराले सरकारको नेतृत्व गर्ने चर्चा चलेपनि आइतबार हालै पार्टी परित्याग गरेका बाबुराम भट्टराइ निकट ठानिने टोपबहादुर रायमाझीको नेतृत्वमा, सातजना मन्त्रीहरु सरकारमा थपिएका हुन्।

एमालेबाट ९/१० जना साथीहरु नेकपा एमालेको तर्फबाट रहनसक्ने भएकोले अरु दलहरुबाट आउन बाकिँ नै छन्। त्यसैले अबको मन्त्रिमण्डलको आकार ३२/३५ पुग्छ होला।

प्रदीप ज्ञवाली, सचिव, नेकपा एमाले

जसमा शक्तिशाली ठानिने गृहसहित उर्जा, शिक्षा, सामान्य प्रशासन, आपूर्ति, वनलगायतका मन्त्रालयहरु छन्।

त्यसबाहेक फोरम लोकतान्त्रिक र साना दलहरुको तर्फबाट बहुजन समाजवादी पार्टीले विना विभागीय मन्त्रालयसहित सरकारमा सहभागिता जनाएका छन्।

तर सरकारकै नेतृत्व गरेको नेकपा एमालेको तर्फबाट भने कोही मन्त्री नथपिनुलाई धेरैले आइतबार बसेको स्थायी समितिको बैठकमा बाँडफाँडमा कुरा नमिलेको रुपमा अर्थ्याएका छन्।

नेकपा एमालेले भने अन्य साना दललाई पनि मिलाएर लैजानुपर्ने भएकोले समय लागेको तर्क गरेको छ।

कारण

अब अझै केही मन्त्रीहरु प्रधानमन्त्रीले तोक्नुपर्ने अवस्था छ। आशा गरौं छिटोभन्दा छिटो सरकारले पूर्णता प्राप्त गर्छ।

अग्नी खरेल, सरकारका प्रवक्ता

यसका कारण मन्त्रिपरिषद्को आकार पनि बढ्न सक्ने एमालेका सचिव प्रदीप ज्ञवालीले बताए।

उनले भने, “साना दलहरु मध्ये पनि कसकसलाई लिन सकिन्छ, सबै दलहरुलाई त सम्भव पनि नहोला त्यसैले हामीले केही मन्त्रालयको ठाउँ खाली राखेका हौं। ९/१० जना साथीहरु नेकपा एमालेको तर्फबाट रहनसक्ने भएकोले अरु दलहरुबाट आउन बाँकी नै छन्। त्यसैले अबको मन्त्रिमण्डलको आकार ३२/३५ पुग्छ होला।”

अहिलेसम्म ३ जना उपप्रधानमन्त्री बनिसकेको मन्त्रिपरिषदमा यसअघि सरकारमा कहिल्यै नबसेको राष्ट्रिय जनमोर्चा पनि उपप्रधानमन्त्रीसहित सहभागी हुने मनस्थितिमा देखिन्छ।

अधिकतम दलहरु समावेश गर्ने भनिएको सरकारले कहिले पूर्णता पाउला भन्ने प्रश्नमा सरकारका प्रवक्ता तथा कानुन मन्त्री अग्नि खरेलले भने, “विगतमा पनि सरकार गठन हुँदा विस्तार गर्न समय लागेको छ। अब अझै केही मन्त्रीहरु प्रधानमन्त्रीले तोक्नुपर्ने अवस्था छ। आशा गरौं छिटोभन्दा छिटो सरकारले पूर्णता प्राप्त गर्छ।”

तर एमालेभित्रकै केही प्रभावशाली नेताहरुबीच महत्वपूर्ण ठानिएका मन्त्रालयमाथिको दावी प्रतिदावी कारण मन्त्रिपरिषद्को पूर्णतामा विलम्ब भइरहेको कतिपयले टिप्पणी गरेका छन्।