काठमाडौ । यस बर्षको रेडवुल राष्ट्रिय लिग फुटवलको उपाधि रुस्लान थ्रीस्टार क्लवले जितेको छ । लिगको अन्तिम खेलमा चीरपरिचित प्रतिद्धन्दी मनाङ मस्र्याङ्दीलाई हराउदै थ्रीस्टारले १ करोड पुरस्कार राशीको राष्ट्रिय लिग फुटवलको उपाधि जितेको हो ।

दुई महत्वपुर्ण खेलाडीहरु कप्तान सागर थापा र सन्दीप राई खेल मिलेमतोको आरोपमा प्रहरी हिरासतमा पुगेपछि उनीहरुबिना नै उत्कृष्ट लयलाई निरन्तरता दिन सफल थ्रीस्टारले शनिबार भएको महत्वपूर्ण खेलमा मनाङलाई दुई शून्य गोलले हराउन सफल भयो । थ्रीस्टारको जितमा बिदेशी स्ट्राइकर ओलावाले अफिज र विजय धिमालले गोल गरे ।

थ्रीस्टारको १६ खेलबाट ३५ अंक भएको छ भने दोस्रो स्थान हासिल गर्न सफल त्रिभूवन आर्मीको ३३ अंक छ । मनाङ ३१ अंक सहित तेस्रो स्थानमा रह्यो । झापा ११ चौथो, सशस्त्र प्रहरीको एपीएफ पाँचौं, सुदूरपश्चिम फुटवल क्लव छैटौं, नेपाल पुलिस सातौं, लुम्बिनी क्लव आठौं र मोरङ फुटवल क्लवले नवौं स्थानमा रहेर लिग टुङ्ग्याए ।

उपाधि सहित थ्रीस्टारले नेपाली फुटवलमा सर्बाधिक पुरस्कार १ करोड जित्न सफल भयो । दोस्रो स्थानको आर्मीले ५० लाख र तेस्रो स्थानको मनाङ मस्र्याङ्दीले २५ लाख पायो ।

लिगमा उत्कृष्ट गोलकिपर थ्रीस्टार क्लवका किरण चेम्जोङ, उत्कृष्ट डिफेण्डर झापा ११ का तेजेन्द्र तामाङ, मिडफिल्डर मनाङका बिशाल राई र उत्कृष्ट फरवार्ड लिगका सर्बाधिक १४ गोल गरेका आर्मीका नवयुग श्रेष्ठ घोषित भए ।

त्यस्तै उत्कृष्ट प्रशिक्षक च्याम्पियन टोली थ्रीस्टारका राजेन्द्र तामाङ चुनिए । उत्कृष्ट सबैले एक एक थान मोटरसाईकल पुरस्कार पाए ।