काठमाडौं । सरकार गठनको विषयलाई लिएर नेकपा एमाले र एमाओवादीबीच चर्को विवाद देखिएपनि सरकारले पूर्णता पाउने देखिएको छ । चर्को विवादकै बीच एमाओवादीले अधिकांश मन्त्रीहरुको छनौट गरिसकेको छ भने एमाले र अन्य साना दलहरुले समेत मन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा निक्र्यौल गरेका छन् ।

१६ वटा राजनीतिक दलको समर्थनबाट प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा पाँच उपप्रधानमन्त्री हुनसक्ने देखिएको छ ।

एमाओवादीमा अहिलेसम्म सचिव टोपबहादुर रायमाझीले उपप्रधानमन्त्री बन्दै पार्टीको नेतृत्व गर्ने देखिएको छ भने माले महासचिव सीपी मैनालीले उपप्रधानमन्त्रीसहितको मन्त्रालयको जिम्मेवारी लिएर आइतबार शपथ लिने जनाएको छ । पार्टीभित्र विवाद रहे पनि एमाले उपाध्यक्ष भीम रावलको नाम पनि उपप्रधानमन्त्री पदका लागि लगभग तय भएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार यसअघि नै उपप्रधानमन्त्री नियुक्त भइसकेका छन् ।

राष्ट्रपति कार्यालयले अपराह्न ३ बजे सभामुख र उपसभामुखको शपथका लागि समय निर्धारण गरेको छ भने त्यसपछि मन्त्रीहरूको शपथका लागि समय तय गरेको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पहिलोपटक सरकारमा सहभागी हुँदैछन् भने बहुजन समाजवादी पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान पनि सरकारमा जाँदैछन् । समाजवादी पार्टीका नेता प्रेमबहादुर सिंहले मन्त्री हुने चाहना प्रधानमन्त्रीसमक्ष व्यक्त गरेका छन् ।