प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत पक्षहरुलाई वार्तामा आउन आग्रह गरेका छन्। व्यवस्थापिका संसदमा बिहीबार पहिलोपटक सम्बोधन गर्दै उनले संविधान संशोधन मार्फत् अगाडि बढ्ने बाटो खुला भएको भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन आग्रह गरे।

उनले भने, ‘अत्यधिक सहमतिमा संविधान जारी गरेका हौं,  संविधान संशोधन गरी जायज माग सम्बोधन गर्न सकिन्छ।’ प्रधानमन्त्री ओलीले भारतको सीमामा देखिएको समस्या र अघोषित नाकाबन्दी प्रति सरकार गम्भिर भएको भन्दै यो समस्याले सबै नेपाली जनतालाई दु:ख भएको बताए।

उनले भने, ‘देशको समस्या बुझेर आम जनताले देखाएको धैर्यको प्रशंसा गर्दैछु। इन्धन लगायतका आपुर्ति समस्या समाधान गर्न राजनैतिक र कुटनीतिक पहल गरिने छ। यसकै लागि परराष्ट्रमन्त्री कमल थापा शनिबार भारतीय विदेशमन्त्रीको निमन्त्रणमा दिल्ली जाँदै  हुनुहुन्छ। यो पनि म जानकारी गराउन चाहन्छु।’

उनले प्रधानमन्त्री निर्वाचनमा साथ दिनेलाई सबैलाई धन्यवाद दिए।

प्रधानमन्त्री ओलीले संविधान निर्माण मार्फत राजनीतिक मुद्धा टुङ्गो लागेको भन्दै अब आर्थिक विकासमा केन्द्रित हुने बताए।

उनले ‘लोकतान्त्रीक सिद्धान्तलाई ध्यान दिँदै शान्ति प्रक्रियाका बाँकी काम पुरा गरिने’ प्रतिबद्धता जनाए।

रोजगारी सिर्जना गर्नेतर्फ सरकार अग्रसर हुने  उनले बताए। सरकारले सबै प्रकारका असमानता कम गर्न सकरकाले प्रयास गर्ने उनको भनाई छ।

आफू सधै‌ं नेपाली जनताको स्वाभिमान उँचो पार्न प्रयास गर्ने उनले प्रतिबद्धता जनाए।

उनले विनाशकारी भूकम्पको पीडाबाट आक्रान्त भएको भन्दै अब पुननिर्माणको काम तिब्र गतिमा अघि बढाउने बताए। उनले भने, ‘दातृसम्मेलनमा प्राप्त सहयोग र सदासयताले भरोसा दिएको छ। त्यसको उचित परिचालन गरिनेछ।’

पुननिर्माणका लागि ‘नेपाली योजना विदेशीको साथ, राज्यको नेतृत्व हरेक नेपालीको हात’  भन्ने नारा सरकारले अघि सारेको उनले बताए।