एजेन्सी। इजरेलीहरुमाथि आक्रमण गरेको भनिएकामाथि इजरेली प्रहरीले गोली चलाउँदा दुईजना प्यालेस्टिनी मारिएका छन्।

इजरेली फौजले जेरुसलेमका अरब क्षेत्रहरुमा एउटा महत्वपूर्ण सुरक्षा कारवाही शुरु गरेका बेला धेरै ठाउँमा आक्रमणका घटनाहरु जारी छन्।

यसअघि बुधबार विहान इजरेली प्रहरीले जाबाल मुकाबेर जिल्ला छिर्ने बाटाहरु बन्द गरेको थियो।

मंगलबार तीनजना इजरेलीहरुको हत्या गरेको आरोप लागेका तीनजना मानिसहरु सोही जिल्लाको भएको बताइएको छ।

आक्रमण

हिंसा चर्किएपछि पहिलो पटक बोल्दै प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले सबैकुरा जलाउने गरी इजरेली गतिविधिले धार्मिक द्वन्द्व चर्काउने खतरा बढाएको बताएका छन्

त्यसको केही घण्टापछि जेरुसलेमको मुख्य बस स्टेशनमा एकजना इजरेली महिलामाथि आक्रमण गर्ने एकजना प्यालेस्टिनीलाई प्रहरीले गोली हानी मारिदिएको थियो।

पर्खालहरु लगाइएको उक्त पुरानो शहरमा एकजना इजरेली प्रहरीमाथि पनि एकजना प्यालेस्टिनीले आक्रमणको प्रयास गरेका थिए।

ती व्यक्तिलाई पनि प्रहरीले गोली हानी मारिदिएको उनीहरुले बताएका छन्।

इजरेली अधिकारीहरुका अनुसार अक्टोबर महिनाको शुरुदेखि गोलीकाण्ड र आक्रमणका घटनामा सातजना इजरेलीको ज्यान गएको छ भने कयौं घाइते भएका छन्।

आक्रमणकारी भएको भनिएका मानिसहरुसहित कम्तीमा ३० जना प्लास्टिनीहरु मारिएको र सयौं घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

खतरा

हिंसा चर्किएपछि पहिलो पटक बोल्दै प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले सबैकुरा जलाउने गरी इजरेली गतिविधिले धार्मिक द्वन्द्व चर्काउने खतरा बढाएको बताए।

एकजना इजरेलीमाथि आक्रमण गरेका एक १३ वर्षीय बालकको इजरेली प्रहरीले गोली हानी हत्या गरेको घटनालाई इंगित गर्दै अब्बासले इजरेलले बच्चाहरुको नृशंस हत्या गरिरहेको आरोप समेत लगाए।

तर इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले अब्बासको भनाई झुटो र भड्काउने खालको भएको बताएका छन्।

ती बालक अस्पतालमा जीवित रहेको नेतन्याहुलाई उद्धृत गर्दै जेरुसलेम पोस्टले जनाएको छ।