काठमाडौं।  अन्डर नाईन्टिन विश्वकप क्रिकेट छनोट प्रतियोगितामा सहभागी हुन नेपाली युवा क्रिकेट टोली मंगलबार(आज) मलेसिया प्रस्थान गर्दैछ ।

राजु रिजालको कप्तानीमा मलेसिया जाने टोलीले अर्को वर्ष बंगलादेशमा हुने विश्वकप अण्डर नाईन्टिन क्रिकेटका लागि छनोट हुने लक्ष्य लिएको छ ।

मलेसियाकोक्वालालम्पुरमा बिहीबारबाट सुरु हुने छनोट प्रतियोगितामा नेपालसहित आयरल्याण्ड, पपुवा न्युगिनी, युगाण्डा र अमेरिका सहभागी छन् ।

राउण्ड रोबिन लिगका आधारमा खेलिने प्रतियोगिताको शीर्ष स्थानमा रहने टिम विश्वकप क्रिकेटका लागि छानिनेछ । नेपालले आफ्नो पहिलो खेलमा बिहीबार पपुवा न्युगीनीको सामना गर्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले क्षेत्रीय छनोट प्रतियोगिता सम्पन्न गरिसकेपछि सबै समुहका उपविजेता टोलीका लागि अन्तिम मौका स्वरुप यो प्रतियोगिता आयोजना गरेको हो ।

गत अगष्टमा मलेसियामा भएको एसीसी युथ नाईन्टिन प्रिमियर लिग क्रिकेटमा उपविजेता बनेपछि नेपालले यो छनोट प्रतियोगिता खेल्ने अवसर पाएको हो ।