२५ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादी, राप्रपा नेपालसहितका दलको समर्थनमा नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई पराजित गर्दै प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका ओलीले सोमबार पद तथा गोपनियताको सपथ लिँदै हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले सोमबार नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गर्नुभएको हो । स्रोतका अनुसार राप्रपा नेपालका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार उपप्रधानमन्त्री बन्ने पक्का भैसकेको छ ।
एमाओवादीको तर्फबाट पनि एक जना उप्रधानमन्त्री रहने भएपनि एमओवादीले कसको नेतृत्वमा सरकारमा जाने भन्ने निर्णय गरिसकेको छैन ।एमाओवादीले कृष्णबहादुर महरा वा टोपबहादुर रायमाझी मध्ये एकजनालाई सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गराउने तयारी गरेको छ । महरा वा रायमाझी जो गएपनि उपप्रधानमन्त्रीसहित गृह मन्त्रीको जिम्मेवारी सम्हाल्ने स्रोतले जनाएको छ ।

यस्तै राप्रपा नेपालका अध्यक्ष थापाले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री तथा फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी सम्हाल्ने तय भएको छ ।

एमाले उपाध्यक्ष भीमबहादुर रावल, उपमहासचिव विष्णु पौडेललगायत नौ मन्त्री एमालेबाट बन्ने भएका छन् । सोमबार बिहान एमाले स्थायी समितिले यसको निर्णय गर्दैछ ।

 एमाओवादीले गृहसहित आठ मन्त्रालय पाउनेछ । एमाओवादीबाट अग्निप्रसाद सापकोटा, हरिबोल गजुरेललगायत आठजनाले मन्त्री पद पाउनेछन् ।
राप्रपा नेपालले परराष्ट्रसहित तीन, फोरम लोकतान्त्रिकले भौतिक पूर्वाधार र यातायातसहित दुई मन्त्रालय पाउनेछन् । राप्रपाले दुई र नेकपा मालेले एकसहित केही साना दलले समेत मन्त्रालय पाउने सहमति भएको छ ।
ओली स्रोतका अनुसार सोमबार सातदेखि नौ सदस्यीय मन्त्रिपरिषद् बन्नेछ । एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले सोमबार बिहान पार्टी पदाधिकारी बैठकले मन्त्रीहरू टुंग्याउने बताए ।