काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री निर्वाचित भएको छन्। संसद्‍को आइतबारको बैठकमा भएको मतदानमा ओली स्पष्ट बहुमतसहित निर्वाचित भएका छन्।

वर्तमान प्रधानमन्त्री सुशील कोइराला पराजित भएका छन्। ओलीले ३३८ मत पाएका छन् भने उनका प्रतिस्पर्धी कोइरालाले २४९ मत प्राप्त गरेका छन्।कांग्रेसबाहेक संसद्‍का अधिकांश दलले उनलाई समर्थन गरेका छन्।

ओलीलाई एमाओवादी , राप्रपा नेपाल, राप्रपा, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)लगायत अधिकांश साना दलहरुले समर्थन गरेका छन्।
उनलाई प्रधानमन्त्री हुनका लागि हाल कायम संसद्को कुल संख्या ५९७ मध्ये २९९ मत मात्रै आवश्यक थियो। तर उनले  तीन सय मत प्राप्त गरेका छन्। कांग्रेसबाट उम्मेदवार बनेका सुशील कोइरालालाई कांग्रेसबाहेक संयुक्त मधेसी मोर्चाले मात्र मत दिएका छन्।

द्वन्द्वका बेला एमाओवादीको कटु आलोचक रहेका ओली एमाओवादीकै प्रस्ताव र समर्थनमा प्रधानमन्त्री बनेका छन्। झन्डै पाँच दसकदेखि राजनीतिमा सक्रिय ओली स्पष्ट र प्रखर वक्ता मानिन्छन्।

संविधान निर्माणमा मुख्य दलहरुबीच सहमति जुटाउन ओलीले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। जनताका प्रतिनिधिले बनाएको संविधानअनुसार पहिलो प्रधानमन्त्री बन्ने अवसर ओलीले पाएका छन्।