इलाम। भारतले गरेको अघोषित नाकाबन्दीबाट देशमै पेट्रोलियम पदार्थको हाहाकार भइरहेका बेला इलामको पूर्वी नाका पशुपतिनगरबाट भने दैनिक दुई हजार लिटरभन्दा बढी पेट्रोलियम पदार्थ नेपाल भित्रिरहेको छ ।

भारतको दार्जिलिङ, सिक्किम क्षेत्रबाट भारतीय गाडीले इन्धन भरेर इलामको पशुपतिनगरमा बिक्री गर्न थालेका छन् । उनीहरूले पशुपतिनगरमा पेट्रोल रु १५० देखि १६० सम्म र डिजेल रु ११५ देखि १२० सम्म बिक्री गरिरहेका छन् ।

सरकारले पर्याप्त इन्धन उपलब्ध नगराउँदासम्म भारतबाट यसरी नै इन्धन बिक्री भइरहन्छ, पशुपतिनगर उद्योग वाणिज्य सङ्घका सल्लाहकार मिलन क्षेत्रीले भने, ‘नेपालमा नपाएपछि महँगोमा भए पनि भारतीय इन्धन खपत गर्नुपरिरहेको हो ।’

भारतीय गाडीहरू यतिबेला यात्रु बोक्नेभन्दा पनि अवैध तरिकाले इन्धन ओसारपसारमा लागेका छन् । भारतीय गाडीले फुलट्याङ्की तेल भरेर पशुपतिनगरमा नेपाली व्यापारी र सवारी साधनलाई बिक्री गर्ने क्रम बढेकाले अहिले सीमावर्ती पशुपतिनगर बजारमा भारतीय रुपैयाँको अभाव भएको छ ।

तेल खरिद गरेपछि भारतीय रुपैयाँ दिनुपर्छ, तेलकै कारणले पशुपतिनगरमा भारु अभाव चरम भएको छ, क्षेत्रीले भने, ‘इन्धनका कारण भारुको अभाव सिर्जना भयो ।’

इन्धन केही महँगो भए पनि उपभोक्ताले खरिद गरिरहेका छन् । भारतीय व्यापारीबाट इन्धन खरिद गरेर इलामको पशुपतिनगर, फिक्कल, इलाम बजार, बिब्ल्याँटेसम्म पुग्न थालेको छ ।

भारतबाट पूर्वी नाका पशुपतिनगरबाट ल्याइएको इन्धनमा जिल्लामा व्यापक कालोबजारी भए पनि प्रशासन मौन छ । दैनिक दुई हजार लिटरभन्दा बढी इन्धन भित्रिएर कालोबजारी भए पनि प्रहरी, प्रशासन मौन रहेकाले सर्वसाधारण उपभोक्ता मारमा परेका छन् ।

सीमा क्षेत्रमा रहेको सीमा सुरक्षा बल (एसएसबी) भारतीय गाडीहरूले इन्धनको व्यापार गरेको भन्दै सीमा क्षेत्रमा कडाइ गर्न थालेको छ ।

‘भारतले नेपालमा नाकाबन्दी गरेको छ, त्यसैले नेपालतर्फ इन्धन बिक्री गर्न पाइँदैन,’ एसएसबीको भनाइ उद्धृत गर्दै एक भारतीय व्यापारीले भने । पशुपतिनगरमा दैनिक रु १० लाखभन्दा बढीको इन्धनको कारोबार भइरहेको छ । पशुपतिनगर ल्याइएको इन्धन जिल्लाका विभिन्न बजारका साथै रात्रिबसमा हालेर काठमाडौँसमेत पुर्याउन थालिएको छ ।

इन्धनको सहज आपूर्ति नहुँदा पशुपतिनगरबाट चल्ने रात्रिबसले अग्रिम बुकिङ काउन्टरसमेत खुलाउन नसकिएको सुदूरपूर्व रात्रिबस व्यवसायी सङ्घका सचिवसमेत रहनुभएका क्षेत्रीले भने, ‘इन्धनको अभावका कारण धेरै समस्या छ ।’

विराटनगरको जोगवनी, रुपन्देहीको बेलहिया, झापाको काँकडभिट्टालगायत विभिन्न नाकाबाट इन्धन आयात नभइरहेको अवस्थामा पशुपतिनगरबाट सहज रूपमै इन्धन खपत भइरहेको स्थानीय बासिन्दाले बताएका छन् । रासस