२४ असोज, काठमाडौं । मुलुकको नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार व्यवस्थापिका संसदमा निर्वाचन हुँदैछ । प्रधानमन्त्री पदका लागि एमाले अध्यक्ष केपीशर्मा ओली र प्रधानमन्त्रीबाट आजै राजीनामा दिएर कामचलाउ बनेका काँग्रेस सभापति सुशील कोइरालाले उम्मेद्वारी दर्ता गराएका छन् ।

अन्तिम समयमा राजनीतिक समीकरणमा चमत्कारपूर्ण परिवर्तन र अवज्ञा नभएमा ओलीका पक्षमा ३२९ सदस्यहरूले समर्थन जनाएका छन्। सभामुखसहित ५९८ सदस्य रहेको संसद्मा प्रधानमन्त्री निर्वाचित हुन कम्तीमा २९९ मत आवश्यक पर्छ।
स्पष्ट रूपमा देखापरेका समीकरणका अनुसार ओलीका पक्षमा एमालेका १८३, एमाओवादीका ८३ र राप्रपा नेपालका २५ सहित बाँकी ३८ वाम समूह र साना दलहरूका सदस्यको समर्थन छ। 
कोइरालाको पक्षमा अहिलेसम्म कांग्रेसका २०७ को समर्थन छ भने संविधानसभाको प्रक्रिया बहिष्कार गर्दै आएका दुई मधेसी मोर्चाका ५३ सदस्यसमेत उनको पक्षमा जाने सम्भावना छ।
ओलीको प्रस्तावकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल छन् भने राप्रपा नेपालका अध्यक्ष थापासहित साना १४ दल र एक स्वतन्त्र सभासद्ले समर्थन जनाएका छन्।
राप्रपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक), बहुजन शक्ति पार्टी, समाजवादी जनता पार्टी, नेपाली जनता दल, नेपाः राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, अखण्ड नेपाल पार्टी, दलित जनजाति पार्टी नेपाल र स्वतन्त्र सभासद् अतहर कमाल मुसलमान ओलीको समर्थनमा छन्।
चार सिट भएको नेमकिपा र तीन सिट भएको नेकपा संयुक्तले पनि ओलीलाई समर्थन जनाउने एमाले प्रमुख सचेतक अग्नि खरेलले बताए। यी दुई दलसँगै ओलीका पक्षमा ३३० को समर्थन जुट्नेछ । तर सभामुख सुवास नेम्बाङले मतदानमा भाग नलिने भएकाले एक सिट घट्नेछ।