बैशाख १२ गतेपछिको भुईचालोबाट पीडित बनेका सिन्धुवासीलाई सवा ३१ लाख किलो चामल वितरण गरिएको छ। जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत सिन्धुवासीका लागि ३१ लाख २७ हजार ४ सय ७० किलो चामल वितरण गरिएको हो।
विभिन्न समय र जिल्लाका स्थानमा गैरसरकारी संस्थाले वितरण गरिएको चामल यसमा समावेश छैन।  समितिको हालसम्मको तथ्यांक अनुसार जिल्लामा भुकम्पपीडितका लागि ल्याइएको सबै चामल वितरण गरिसकिएको छ। जिल्लाको तीनै क्षेत्रमा वितरण केन्द्र स्थापना गरि पीडितलाई चामल दिइएको थियो।
तथ्यांकअनुसार जिल्लाको क्षेत्र नं. १ बाट ८ लाख ४९ हजार ६ सय किलो, २ बाट ५ लाख २२ हजार २ सय २० किलो र ३ नं. बाट १७ लाख ५५ हजार ६ सय ५० किलो वितरण गरिएको छ।
क्षेत्र नं. १ को लामोसाँघु, २ को जिल्ला सदरमुकाम चौतारा र ३ नं. क्षेत्रमा मेलम्चीलाई प्रमुख केन्द्र बनाई जिल्ला दैवी प्रकोप उद्दार समितिले राहत वितरण गरिएको थियो। क्षेत्रपिच्छे राहत वितरण संयोजक  अधिकृतलाई खटाइ केन्द्रमार्फत जिल्लाका विकट गाउँमा खाद्यान्न लगायत अन्य आवश्यक राहत पुर्याइएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ।
भुईंचालोपछिको तथ्यांक अनुसार हरेक परिवारले ४० किलोको हाराहारीमा जिल्ला दैवी प्रकोप उद्धार समितिबाट चामल बुझेका छन् । भुईचालोपछि जिल्लामा परिवारको संख्या ह्वात्तै बढेको छ। २०६८को जनगणनाअनुसार जिल्लाको ६६ हजार ६ सय घरधुरी मात्रै थियो।