मधेस बन्दका कारण महिना दिनभन्दा बढीदेखि अत्यावश्यक वस्तुको आपूर्ति सहज नबनिरहेका बेला एक साताअघि भारतले नाकाबन्दी गरेका कारण पेट्रोलियम पदार्थलगायत सबैजसो वस्तुको आयात ठप्प छ। एक सातादेखि उपत्यकावासीले ग्यास पाएका छैनन् । पाएका केहीले कालोबजारमा बढी मूल्य तिर्नुपरेको छ। कतिपयका घरमा चुलो बल्न छाडिसकेको छ।
ठमेलजस्तो चहलपहल हुने ठाउँ सुनसान छ । ग्यास अभावमा रेस्टुरेन्टहरू बन्द हुन थालेका छन्। एक साता लम्बिए पाँचतारे होटलका किचन पनि बन्द हुने अवस्थामा पुग्छन्।सरकारले पेट्रोलियमबाहेकका अत्यावश्यक वस्तुको भन्डारण तीन महिनाका लागि पर्याप्त भने पनि राजधानीमा कालोबजारी बढेको छ।
‘खाद्यान्न त छठ पर्वसम्मका लागि पर्याप्त छ,’ वाणिज्य तथा आपूर्ति सचिव ङइन्द्रप्रसाद उपाध्यायले भने, ‘तर यस्तो मौकामा चौका हान्न खोज्ने त भइहाल्छन्।’ वाणिज्य विभागले अनुगमन जारी राखेको र संकटका बेला कालोबजारी फेला परे कडा कारबाही गरिने उनले बताए।
यसरी अत्यावश्यक वस्तुको अभाव भइरहेका बेला नेपाल ल्याउन सामान लोड गरी ठिक्क पारिएका चार हजार २६ ट्रक र कन्टेनर नाकापारि सीमावर्ती भारतीय भूभाग तथा कोलकाता बन्दरगाह क्षेत्रमा कुरेर बसेका छन्। यसरी माल लोड गरिएका मालवाहक सवारी रोकिँदा तिर्नुपर्ने विलम्ब शुल्कको मार अन्ततः उपभोक्ताकै थाप्लोमा पर्नेछ।
व्यवसायीका अनुसार एउटा ४० फुटको कन्टेनर एक दिन रोकिँदा सात हजार सात सय रुपैयाँ विलम्ब शुल्क तिर्नुपर्छ।’आयातकर्ताको लागत बढी परेपछि त्यसको भार त अन्ततः उपभोक्ताकै टाउकोमा पर्छ,’ उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले भने।
कतिपय ट्रक र कन्टेनरले त महिना दिनदेखिको विलम्ब शुल्क तिर्नपर्ने भएको छ। ‘मेरो एउटा साथीले विलम्ब शुल्कमा तीन करोड रुपैयाँ तिर्नुपरेको सुनायो,’ उद्यमी जगन्नाथ महर्जन भन्छन्।
कच्चा पदार्थ र पेट्रोलियम अभावमा उद्योग बन्द हुन थालेका छन्। ‘उद्योग भएर के गर्नु, कच्चा पदार्थ आयात गर्नैपर्छ,’ भ्याली दाना उद्योगका सञ्चालक बाबुराजा रावल भन्छन्। उनका अनुसार थप एक साता नाकाबन्दी लम्बिए कच्चा पदार्थको अभावमा मुलुकका अधिकांश दाना उद्योग बन्द हुनेछन्। यस्तै चौबिसै घन्टा बत्तीको उज्यालो चाहिने पोल्ट्री फार्ममा डिजल नपाइए कुखुराका चल्ला बचाउन सकिँदैन।