दसैंकाे मुखमा भारतले अघोषित नाकाबन्दी गरेपछि  विशेषगरी पेट्रोलियम पदार्थको अभावले छटपटिएका नेपालीले चीनलाई सम्झे । यो चरम अभाव पूर्ति गर्न चीन अग्रसर हुनुपर्ने अपेक्षा पनि गरे । तर, के यो अपेक्षा तत्काल पूरा हुन सक्छ ? धेरैका मनमा प्रश्न उठेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
नेपाली अधिकारीसँगको भेटमा चिनियाँ सरकारका प्रतिनिधिले भन्ने गरेका छन्, ‘हामी जस्तोसुकै सहयोग गर्न तयार छौं ।’ एक दिनअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले न्यूयोर्कमा उपप्रधानमन्त्री प्रकाशमान सिंहसँगको संक्षिप्त भेटमा त्यस्तै वाक्य दोहोर्‍याए, ‘नेपाली जनताको चाहनाअनुरूप चीन सधैं नेपालको आर्थिक विकासमा सहयोग गर्न चाहन्छ ।’
चिनियाँ अधिकारीका यस्ता भनाइ नयाँ होइनन् । उत्तरी छिमेकी देश चीन जहिले पनि नेपाललाई सहयोग गर्न चाहन्छ । उसले चाह्यो भने धेरै गर्न सक्छ । तर, के उसले आफूले चाहेको सहयोग नेपालमा गर्न सक्छ वा पाउँछ ? यो प्रश्न भने गम्भीर छ ।
विगतदेखि भन्दै आएका कुरा हो भारत र चीनसँग समदूरीको सम्बन्ध राख्नुपर्छ । सैद्धान्तिकरुपमा यो कुरा सही छ । के त्यो व्यहारमा सम्भव छ ? भौगोलिकरुपमा मात्र होइन, साँस्कृतिक, भाषिकरुपमा पनि नेपाल र भारतको सम्बन्ध बढि निकट छ । चीनसँग त्यति सहज छैन । सबै हिसाबले चीन र भारतसँगको सम्बन्ध व्यवहारिक रुपमा समान हुन सक्दैन । त्यसको फाइदा उठाउँदै बेलाबेला भारतले नेपाललाई दबावमा राख्दै आएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति बिभागका प्रमुख डा. खड्क केसी तत्काल चीनबाट पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्यवस्तु आयात गर्न व्यवहारिक रुपमा कठिन हुने बताए । ‘चीनसँगका दुबै नाका अवरुद्ध छन्, भारतसँग पुरै निर्भर नीति विगतका शासकले लिए,’ उनले भने, ‘यस्तो अवस्थामा तत्काल हामीले चाहेजस्तो वस्तु चीनबाट ल्याउन सकिँदैन ।’