काठमाडौं । काठमाडौं मल अगाडि एक युवा ‘जाउलाखेल-प्लिज लिफ्ट’ लेखिएको कागज देखाएर उभिइरहेका थिए । तीन घण्टा उभिँदा पनि उनलाई कसैले लिफ्ट दिएनन् ।

उनी रहरले सडक किनारामा उभिएर लिफ्ट मागेका भने होइनन् । भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि यातायात आवागमन अस्तव्यस्त बनेर उनीजस्ता सयौं यात्रु मारमा परेका छन् ।

सरकारले जोर विजोर प्रणाली लागू गरेपछि गाडीको संख्या झन घटेको छ र यात्रुले गाडी चढ्न घन्टौं कुर्नु पर्ने भएको छ । बस स्टपहरुमा मानिसहरु कतिबेला गाडी आउँछ भनेर कुरिहेका हुन्छन् । तर, गाडी आएपछि पनि सजिलै चढ्न सक्ने अवस्था छैन् ।

गाडीभित्र स्थान पाउन ठूलै संर्घष गर्नुपर्छ । दौडधुप र ठेलमठेल गर्दै निकै कस्टसाथ बल्लबल्ल उभिने स्थान पाइन्छ गाडीभित्र । भीडमा ठेलमठेल गर्न नसक्ने महिलाहरु घण्टौंसम्म उभिँदा पनि गाडीभित्र पाइलो राख्न पाएका थिएनन् ।

तेल नभएको भन्दै उपत्यकाकै केही लामो रुटमा गाडीहरु नचल्दा यात्रुहरु सबैभन्दा बढी मर्कामा परेका छन् । थानकोट, बुढानिलकण्ठ लगायतका टाढाका गन्तव्यमा पुग्नु पर्नेहरु धेरै मारमा परेका छन् ।

गाडी गुड्ने सडक तुलनात्मकरुपमा खाली छन् भने खाली सडकमा असिन पसिन हुँदै मानिसहरु पैदल हिडिरहेका भेटिन्छन् । चोकचोकमा देखिने पेट्रोल पम्पहरुमा हजारौं मिटर लामो लाइन छन् ।

सरकारले जोरविजोर प्रणाली लागू गर्दा आधामात्र सवारी सडकमा कुदिरहेका छन् । तर, कार्यालय बिदा छैन, त्यसैले कार्यालय आउने जाने समयमा निजी तथा सरकारी कार्यालयमा काम गर्ने कर्मचारीले ठूलो संर्घष गर्नुपरेको छ ।

दुःख, कष्ट र हैरानी भए पनि यात्रुहरुमा सरकारप्रति आक्रोस देखिन्न । पैसा तिरेर किन्दा पनि भारतले पेट्रोलियम पदार्थमा अघोषित नाकाबन्दी लगाएको अथार्थ उनीहरुले बुझेका छन् । सडकमा सास्ती भोग्न बाध्य यात्रुहरु भन्छन-‘हामी दुःख झेल्न तयार छौं तर सरकारले भारतमाथिको निर्भरताको विकल्प खोजोस् ।’