सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मोर्चाले राखेका तीन सर्त पूरा भएमात्र वार्ताको वातावरण बन्ने बताएका छन्।

मोर्चाको वीरगञ्ज रक्सौल सीमावर्ती मितेरी पुलको धर्नास्थलमा सोमबार स्थानीय सञ्चारकर्मीहरुसित कुरा गर्दै अध्यक्ष महतोले सरकार वार्ताप्रति गम्भीर नभएको आरोप लगाए।

सेना फिर्ता, मृतकहरुलाई सहिद घोषणा र विगतमा भएका सम्झौता संविधानमा लेख्ने सुनिश्चितता भएपछि मात्र वार्ताको वातावरण बन्ने दाबी उनको छ।

वार्ताको लागि सरकारले टोली गठन गरेको बारेमा संचारकर्मीहरुले सोधेको प्रश्नमा उनले यसबारेमा आफूलाई आधिकारिक जानकारी नभएको बताए।

नेता महतोले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संविधानमा हस्ताक्षर गरेको प्रायश्चित गर्न पार्टी र संसदबाट राजीनामा दिएकोमा उनलाई धन्यवाद दिए। तीन दलका अन्य सांसदले पनि भट्टराईले जस्तै राजीनामा दिएर आएमा मधेसी जनाताले माफ गरिदिने अन्यथा कारवाही गर्ने बताए।

उनले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई मधेस आन्दोलनलाई बदनाम गर्न भारतसँग जोडेर झुठो राष्ट्रवादी बन्न खोजेको आरोप लगाए। उनले आफू बसेको भूमि देखाउदै प्रश्न गरे ‘हामी धर्ना बसेको यो भूमि नेपाल होइन?’

आन्दोलन कुनै समुदाय र व्यक्तिविरुद्ध नभएको बताउदै अध्यक्ष महतोले नेपालमा बसोबास गर्ने तराई मधेशी समुदायको हकअधिकार प्राप्तिको लागि भइरहेको आन्दोलनप्रति आम नेपाली समुदायले ऐक्यबद्धता जनाउनुपर्ने बताए। मोर्चाले सोमबार पाँचौ दिन पनि नाकामा धर्ना जारी राखेका छन्।

मधेशवादी मोर्चाले करीब डेढ महीनादेखि जारी राखेको बन्दका कारण आयात निर्यात प्रभावित भएको छ ।