फेसुबकले आफ्नो च्याट गर्ने सेवा म्यासेन्जरबाट पैसा कमाउने सोच रहेको कुरा पहिले नै बताइसकेको छ। मानिसहरु र व्यवसायले एक अर्कालाई विज्ञापनमुक्त म्यासेजहरु पठाउन सम्भव बनाउने योजना रहेको फेसबुकका सिइओ मार्क जुकरवर्गले बताएका थिए। जब मानिस र  व्यवसायवीच यसरी कुराकानी हुन सुरु हुन्छ तब फेसबुकले व्यापारबाट पैसा कमाउने उपायहरु खोज्ने बताइएको छ।
फेसबुकका कार्यकारी एन्ड्रु वसवर्थले फेसबुकले नयाँ प्रकारको विज्ञापन शैली, ‘क्लिक टु म्यासेज’ सुरु गर्न लागेको बताएका छन्।
व्यवसायले आफ्नो कम्पनी वा उत्पादनको लागि यसको डिजाइन गर्ने र फेसबुकले त्यसको तल सानो म्यासेज बटन बनाउने योजना रहेको छ। कसैले त्यो विज्ञापन हेरेर कम्पनीलाई त्यसका बारेमा केही सोध्न वा कमेन्ट गर्न सक्नेछ। यसपछि उक्त क्लिक वापत फेसबुकलाई व्यवसायले पैसा दिनेछ। यस प्रकार फेसबुकले यस्तो विज्ञापन शैलीको प्रयोग गरेर मेसेन्जरमार्फत पैसा कमाउनेछ ।
वसवर्थले उक्त योजना फेसबुकको अहम् रणनीतिको एक हिस्सा भएको बताएका छन् ।
यो महिनाको सुरुमा फेसबुकले साना व्यवसायीहरुका लागि पेज प्रोडक्टमा कायापलट गरिसकेकोे छ। यसमा नयाँ कल–टु–एक्सन बटन रहेको छ जसबाट व्यवसायले सम्भावित ग्राहकहरुलाई भेट्ने समय वा उत्पादनहरु हेर्नका लागि आकर्षित गर्न सक्छन्। यसका साथै व्यवसायहरुलाई सबै म्यासेजिङ टुलहरु प्रयोग गर्ने सुविधा पनि फेसबुकले दिइसकेको छ।
व्यवसायहरुले फेसबुकलाई आफ्ना वेबसाइटको विकल्पको रुपमा हेरुन् र प्रयोग गरुन् भन्ने चाहना फेसबुकको रहेको पनि बताइएको छ।
व्यवसायहरुका लागि फेसबुक पेज उनीहरुको अनलाइन उपस्थितिको सबैभन्दा शक्तिशाली उपाय बनोस् भन्ने चाहना रहको वसवर्थले बताएका छन्। तथ्यांक अनुसार फेसबुकका पेज हेर्नेको संख्या पछिल्लो वर्ष ४० प्रतिशतले बढेको छ भने हरेक महिना १ अर्ब प्रयोगकर्ताले फेसबुकमा खोलिएका पेजहरु हेर्ने गरेको पनि उनले बताएका छन्।
उनले फेसबुकको क्लिक टू मेसेज सेवा मार्फत सेवा प्रदायक तथा ग्राहकबीच तिव्र तथा विस्तृत संचार सम्भव हुने पनि बताएका छन्। फेसबुकको, ‘क्लिक टु म्यासेज’ हाल परिक्षणमा रहेको पनि बताइएको छ।