चिकित्सा शिक्षाक्षेत्रमा देखिएको बेथितिविरुद्ध भन्दै सातौपटक अनसनमा उत्रिएका वरिष्ठ चिकित्सक गोविन्द केसीका पछिल्ला माग तत्काल पूरा हुन सम्भव नरहेको उल्लेख गर्दै सरकारी अधिकारीहरुले उनलाई अनसन स्थगन गर्न आग्रह गरेका छन्।

सरकारले हालै शिक्षा मन्त्रीको नेतृत्वमा चिकित्सा शिक्षा आयोग बनाएपनि त्यसलाई आफूसंगको पूर्वसम्झौताको उल्लंघन तथा एउटा आयोगको सिफारिश विपरित भएको भन्दै केसी गत सातायता अनसनमा छन्।

केसीले आफूलाई पटकपटक धोका भएको भन्दै अनसन नरोक्ने अडान लिएका छन्।

वार्ताको मनस्थितिमा नदेखिएको सरकारले प्राध्यापक केदारभक्त माथेमा नेतृत्वको आयोगले दिएको प्रतिवेदन अनुरुप नै चिकित्सा शिक्षा आयोग गठन गर्ने, थप मेडिकल कलेज नखोल्ने, विद्यार्थीको सिट संख्या र शुल्क जस्ता डा केसीको अधिकांश माग कार्यान्वयनको क्रममा रहेको बताएको छ।

‘कठिनाइ’

अहिले संविधानको धेरै नयाँ काम छ; ब्यवस्थापिका संसदबाट गर्नुपर्छ। मन्त्रालयले आफ्नो काम गर्नुपर्यो; यो एक रातमा, एक सेकेन्डमा भन्ने वितिक्कै सवै काम हुँदैन। उहाँ (केसी)ले उठाएका सबै जायज माग सरकारले शत प्रतिशत पूरा गरिसक्यो

खगराज अधिकारी, स्वास्थ्य मन्त्री

स्वास्थ्यमन्त्री खगराज अधिकारीले भने, “अहिले संविधानको धेरै नयाँ काम छ। ब्यवस्थापिका संसदबाट गर्नुपर्छ। मन्त्रालयले आफ्नो काम गर्नुपर्यो। यो एक रातमा, एक सेकेन्डमा भन्ने वितिक्कै सवै काम हुँदैन। उहाँ (केसी)ले उठाएका सबै जायज माग सरकारले शत प्रतिशत पूरा गरिसक्यो।”

तर प्रधानमन्त्री नेतृत्वमा चिकित्सा शिक्षा आयोग बनाउने र त्यसमा कार्यकारी अधिकारसहितको उपाध्यक्ष राख्ने सहमति भएपनि त्यस विपरित शिक्षामन्त्रीको नेतृत्वमा गठन गरिएको भन्दै केसी छ दिनयता अनसनमा छन्।

केसीका सहयोगी डाक्टर जीवन क्षेत्री भन्छन्, “राजनीतिक आस्था बोकेका व्यक्तीहरु हावि भएको शिक्षा आयोगले स्वतन्त्र रुपमा नीति बनाउने वातावरण नबन्ला जस्तो हुनु नै डाक्टर केसी अनसन बस्नुको कारण हो।”

तर केसीको पछिल्लो अनसन तोडाउंदा सरकारबाट वार्तामा सहभागी मुख्य सचिव सोमलाल सुवेदीले आयोगसम्बन्धी निर्णयमा पुनर्विचार हुन नसक्ने संकेत गरे।

मुख्यगरी आयोगको अध्यक्ष प्रधानमन्त्री हुनुपर्ने माग नियमत नमिल्ने उनको धारणा थियो ।

उनले भने, “काम गर्ने नै शिक्षा मन्त्रालयले हो। जे काम गर्ने जिम्मेवार निकाय हो, त्यसले त्यही काम गर्नुपर्यो। परेन र?”

लगातार अनशनमा बसेका कारण केसीको स्वास्थ्यमा समस्या शुरु भएको अनशनमा साथ दिइरहेका डाक्टरहरुले बताएका छन्।