वीरगन्ज : आन्दोलनरत मधेसी दलहरुले बिहीबार बिहानदेखि वीरगन्ज-रक्सौल नाका ठप्प पारेका छन् ।

वीरगन्ज–रक्सौल नाकामा रहेको मितेरी पुलस्थित दशगजाक्षेत्रमा बिहीबार  बिहान १० बजेदेखि धर्ना दिएर मधेसी दलका नेता कार्यकर्ताले नाका ठप्प पारेका हुन् ।

मितेरी पुलस्थित दशगजाक्षेत्रमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय समावेशी मधेसी मोर्चाका नेता कार्यकर्ता छुट्टाछुट्टै धर्नामा बसेका छन् ।

बिहान १० बजे देखि शुरु भएको धर्ना र नाका ठप्प पार्ने कार्यक्रम  मधेशका माग पुरा नभएसम्म जारी रहने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष प्रदीप यादवले बताए ।

मधेशी दलले दशगजा क्षेत्रमा धर्ना दिएर नाका ठप्प पारेकाले वीरगन्ज र रक्सौल दुवैतर्फको सवारी आवागमन ठप्प छ । साइकल र पैदल यात्रीहरुले ओहोर दाहोर गरेपनि अन्य सवारीका साधन चलेका छैनन् ।

बुधबार सप्तरीको राजविराजमा बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले आमहड्ताल जारी राख्दै नेपाल भारतको नाका ठप्प पार्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार बिहीबार बिहानदेखि मधेसी दलका नेता कार्यकर्ताले वीरगन्ज–रक्सौल नाकाको दशगजा क्षेत्रमा धर्ना दिएर नाका ठप्प पारेका हुन् ।

धर्नामा बसेका मधेसी नेता
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको धर्नामा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष लालबाबु राउत गद्धी, केन्द्रीय सदस्य वीरेन्द्र यादव, पर्सा अध्यक्ष प्रदीप यादव, सद्भावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी, जिल्ला सदस्य इमदाद् गद्धी, तमलोपाका केन्द्रीय सदस्य जनार्दन यादव, पर्सा अध्यक्ष पुरुषोत्तम झा र तराई–मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष प्रेमचन्द्र कुशवाहा लगायतका नेता कार्यकर्ता बसेका छन् ।

त्यस्तै संघीय समावेशी मधेशी मोर्चाको धर्ना कार्यक्रममा नेपाल सदभावना पार्टीका केन्द्रीय अध्यक्ष अनिल झा, केन्द्रीय सदस्य शिव पटेल, मधेसी जनाधिकार फोरम नेपालका पर्सा अध्यक्ष शशीकपुर मिया, नेकपा माओवादीका जिल्ला अध्यक्ष छोटेलाल यादव, राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेल, नेपाल समाजवादी पार्टी लोहियाजादीका केन्द्रीय अध्यक्ष नन्दन यादव, नेताहरु राजकुमार यादव, किशोरी यादव, सुधीरनाथ पाण्डे, महाराज यादव, ईश्वर यादव र राजु गुप्ता लगायत बसेका छन् ।