संयुक्त राष्ट्र सङ्घको ७०औँ महासभामा घोषणा हुने ‘दिगो विकास लक्ष्य’ (एसडिजी) को एक लक्ष्य ‘शून्य भोकमरी’ अभियान नेपालबाट शुभारम्भ गरिएको छ।
एसडिजीको दोस्रो बुँदाको ‘शून्य भोकमरी’ अभियानको पर्वतारोही निमडोमा शेर्पाले गोरखाको केरौँजा गाउँमा एक साताअघि झन्डोत्तोलन गरी प्रारम्भ गरिन्। नेपालस्थित संयुक्त राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को संयोजनमा गरिएको सो अभियान आज सार्वजनिक गरिएको छ।
यही असोज ८ गते विश्वका १९३ नेताले संयुक्त राष्ट्र सङ्घको महासभामा आगामी १५ वर्षभित्र हासिल गर्ने गरी एसडिजीमा प्रतिबद्धता जनाउने छन्। चरम गरिबी अन्त्य गर्ने, असमानता र अन्यायविरुद्ध लड्ने र जलवायु परिवर्तनलाई व्यवस्थित गर्न विश्वका नेताले १७ वटा लक्ष्य औपचारिक रुपमा पारित गर्नेछन्।
एसडिजी हासिल गर्न शून्य गरिबी, शून्य भोकमरी, असल स्वास्थ्य, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, स्वच्छ पानी र सरसफाइ, वैकल्पिक ऊर्जा, राम्रो रोजगार र आर्थिक वृद्धि निर्धारण गरिएका छन् । त्यस्तै, नवीनता र पूर्वाधार, न्यून असमानता, दिगो सहर र समुदाय, जिम्मेवारपूर्ण खपत, जलवायु अभियान, पानीमुनिको जीवन, भूमिमाथिको जीवन, शान्ति र न्याय, र लक्ष्यका लागि साझेदारी तोकिएको छ।
पर्वतारोही निमडोमाले वर्षा, कुहिरो, विषम बाटो र कठिन उचाइ पार गरी गोरखाको उत्तरी भेगमा अवस्थित केरौँजा गाउँमा पुगी विश्वको ध्यान आकृष्ट गर्ने मौका पाएकोमा निकै गर्व महसुस भएको बताइन्। भूकम्पले भग्नावशेषका रुपमा परिणत भएको सो गाउँमा हाल विश्व खाद्य कार्यक्रमले खाद्यान्न वितरण गरिरहेको छ।
दोलखाको सिमिगाउँकी बासिन्दा निमडोमा विश्व खाद्य कार्यक्रमको सहयोगमा विद्यालयमा बाँडिदै आएको दिवा खाजा कार्यक्रमकी एक लाभग्राही पनि हुन्। सन् २००८ मा १७ वर्षको उमेरमा निमडोमा सगरमाथाको सफल आरोहण गर्ने विश्वकी कान्छी महिलासमेत बनेकी थिइन् ।
निमाडोमाले झन्डा फहराइ प्रारम्भ गरिएको सो लक्ष्य भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा हासिल गर्ने र दिगो कृषिको प्रवद्र्धनमा केन्द्रित छ। यही विषयलाई कृषि विकास रणनीतिसहित सरकारको नीतिमा पनि समावेश गरिएको छ। “हामीले हिँडेको लामो र कठिन पदमार्गले शून्य भोकमरी हासिल गर्ने कार्यमा रहेको कठिन यात्रालाई प्रतिनिधित्व गर्दछ”– निमडोमाले भनिन्।
झन्डोत्तोलन कार्यका साक्षी केरौँजाका चन्द्रबहादुर गुरुङले भूकम्पपछि गाउँले सामना गर्नुपरेका दुःख कष्टपछि यो सन्देशलाई विश्वमाँझ पुर्‍याउन आफ्नो गाउँ छनोट भएकामा गर्व महसुस भएको बताए।
प्रोजेक्ट एभरीवन (प्रख्यात बेलायती चलचित्र निर्माता रिचर्ड कुरतीसको निर्माण) ले ती लक्ष्यका बारेमा जनचेतना फैलाउन अभियानको नेतृत्व गर्दै आएको छ।
यसको उद्देश्य अवलम्बन गरिएको सात दिनभित्र सात अर्ब जनतासम्म ती लक्ष्यको जानकारी पुर्‍याउनु रहेको छ। यसैअन्तर्गत विश्वभर प्रख्यात व्यक्तित्व र कलाकारको संलग्नतामा हरेक लक्ष्यका लागि साङ्केतिक रुपमा झन्डोत्तोलन गर्ने कार्य भइरहेको डब्लुएफपीका सिताष्मा थापाले बताइन्।
लक्ष्यको प्रचारप्रसारमा सहयोग पुर्या‍उन विश्व खाद्य कार्यक्रमलाई पनि आग्रह गरिएको छ। विश्वव्यापी भोकमरीविरुद्ध लड्दै आएको विश्व खाद्य कार्यक्रम विश्वको सबैभन्दा ठूलो मानवीय सहायता एजेन्सी हो। हरेक वर्ष विश्व खाद्य कार्यक्रमले ८० राष्ट्रमा करिब आठ करोड मानिसलाई सहयोग पु¥याउँदै आएको छ।
संयुक्त राष्ट्र सङ्घले यसअघि निर्धारण गरेको सहस्राब्दी विकास लक्ष्य (एमडिजी) सन् २०१५ सम्म सम्पन्न हुँदैछ। नयाँ एसडिजीअन्तर्गत सरकारले सबैभन्दा बढी जोखिममा रहेकासम्म पुग्ने प्रयास गर्नेछ। एमडिजी गरिब मुलुकका केही खास समुदायमाथि मात्र केन्द्रित थियो भने एसडिजीले सबै मुलुकका सबै जनतालाई समेटेको छ। रासस