काठमाडौ : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत नेपालको अभिन्न मित्र भए पनि नेपाल भारतको गुलाम (एसमेन) हुन नसक्ने बताएका छन्।
नयाँ संविधान जारी भएपछि टुँडिखेलमा आयोजित विजयसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामी भारतको सच्चा मित्र हौं तर मित्र हुँदैमा उसको गुलाम (एसमेन) हुनसक्दैनौं। प्रचण्डले भारतका जायज चासो र चिन्तालाई सम्बोधन गर्न आफूहरु तयार रहेको बताउँदै भने, ‘हामी मित्रका जायज चासो र चिन्तालाई सहयोग गर्न तयार छौं तर उसले पनि हाम्रा जायज चासो, चिन्ता र आवश्यकतालाई सहयोग गर्नुपर्छ र सम्बोधन गर्नुपर्छ।’
राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे ?…भन्ने कविता वाचन गरेर भाषण सुरु गरेका प्रचण्ड निकै भावुक देखिए। उनले गोपालप्रसाद रिमालको ‘एक युगमा एक दिन एक चोटी आउँछ, ठूला ठूला उथलपुथल हेरफेर ल्याउँछ’..भन्ने गीत पनि गाएर सुनाए।
उनले यो संविधान देशभक्ति र नेपाली स्वाभिमानको विजय भएको बताउँदै भने, ‘अब जनताको युग सुरु भएको छ। राजामहाराजाले हुकुमबाट संविधान बनाउने र राज्य चलाउने युग समाप्त भएको छ। जनताका प्रतिनिधिले संविधान लेखेका छन्।’
तराई मधेसका अधिकांश माग र मुद्दाहरु सम्बोधन भइसकेकोले अब आन्दोलन छोडेर असन्तुष्टहरु वार्तामा आउनुपर्ने बताए । उनले नयाँ संविधान नेपालको राजनीतिक इतिहासकै सर्वाधिक महत्वपूर्ण उपलब्धी रहेको बताएका छन् । उनले भने, ‘तराई मधेसमा उठेका नागरिकता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, समावेशी समानुपातिक प्रतिनिधित्व लगायतका धेरै माग सम्बोधन भइसकेका छन् । सिमांकनमा केही समस्या भए वार्तामा बसेर सम्बोधन गर्न तयार रहेको प्रतिवद्धता तीन दलबाट लिखित रुपमा आइसकेको छ। त्यसैले अब आन्दोलन आवश्यक छैन ।’
उनले नेपाली जनताको निकै लामो संघर्ष, महान् बलिदानी र संघर्षपछि संविधान संभव भएको बताए उनले उन्नत लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशी प्रतिनिधित्वको प्रणाली नै नयाँ संविधानको विशेषता रहेको उल्लेख गर्दै भने, ‘हामीले नमूना संविधान बनाएका छौं। हामी सबैले गर्व गर्नुपर्दछ। उनले नेपाली स्वाभिमान र आत्मसम्मानको शानदार विजय भएको बताउँदै भने, ‘यो शानलाई जोगाउन हामी सबै जुट्नुपर्छ।’
उनले तीन प्रमुख दल एक ठाउँमा आएपछि संविधान निर्माण सफल भएको बताउँदै भने, ‘कुनै दल विशेषको चाहना, एजेन्डाअनुसार संविधान आएको होइन। सम्झौता र समझदारीमा यो संविधान आएको छ ।’