काठमाडौं: नयाँ संविधान जारी भएको अवसरमा प्रमुख तीन दलले सोमबार राजधानीमा विशाल आमसभा आयोजना गर्ने भएका छन्।
दिउँसो १ बजे हुने आमसभामा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित विभिन्न पार्टीका प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ। सभाबारे जानकारी दिन आइतबार एमाले मुख्यालय धुम्बाराहीमा तीन दलका नेताहरूले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए।
एमाले महासचिव ईश्वर पोखरेल, कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र एमाओवादीका महासचिव कृष्णबहादुर महराले आमसभाको तयारीबारे जानकारी गराएका थिए।
सभाको व्यवस्थापन भने सरकारले गर्नेछ। विभिन्न पार्टीका कार्यकर्ता, राष्ट्रसेवक कर्मचारी सभामा सहभागी हुने जानकारी पत्रकार सम्मेलनमा दिइयो। सभा हुनुअघि विभिन्न ठाँउबाट अलगअलग र्‍यालीसहित खुलामञ्चमा सहभागी हुने कार्यक्रम तय गरिएको छ।
कांग्रेसले शान्तिवाटिका, एमालेले बागबजार तथा एमाओवादी भृकुटीमण्डपमा जम्मा भई खुलामञ्चको सभामा सहभागी हुनेछन्। संविधान जारी भएको अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले पनि सोमबार आपराह्न जलपान कार्यक्रम आयोजना गरेका छन्।
त्यस्तै एमालेले मंगलबार दशरथ रंगशालामा चियापान आयोजना गरेको छ।