काठमाडौं । सरकारले देशभरको सुरक्षा व्यवस्था कडा पारेको छ । काठमाडौं उपत्यका भित्रिने नाका र सीमा क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ । संविधान जारी हुने दिन आयोजित बन्द प्रभावहीन पार्न बन्दकर्तालाई देख्नासाथ पक्राउ गर्ने र सुरक्षाकर्मी बिहान २ बजेदेखि नै परिचालित हुने गरी व्यवस्था मिलाइएको हो ।

आज बिहानैदेखि काठमाडौं उपत्यकाका चोकचोकमा प्रहरी खटिएका छन् । संविधानसभा परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको गृह मन्त्रालयले जनाएको छ । एकीकृत सुरक्षा योजना अन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई परिचालन गरिएको छ ।

देशभर ५० हजार भन्दा बढी सुरक्षाकर्मी खटिएका गृह मन्त्रालयले जनाएको छ । मुख्य कार्यक्रमस्थल संविधानसभा भवनक्षेत्र भएकाले सुरक्षा रणनीतिमा त्यसैलाई केन्द्रमा राखिएको छ । संविधान विपक्षमा रहेको राजनीतिक दलको सम्भावित अवरोध र आपराधिक समूहको सम्भावित सक्रियतालाई निष्क्रिय बनाउन शनिबार बेलुकाबाटै सुरक्षा संगठनले एकीकृत रुपमा उपत्यकामा विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको हो ।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले तीनै सुरक्षा संगठनलाई एकीकृत रुपमा परिचालन गरी सुरक्षा प्रबन्ध दुरुस्त मिलाएको जानकारी दिनुभयो ।