काठमाडौं । संविधानसभाले आगामी आइतबार बस्ने अन्तिम बैठकलाई औपचारिक समारोहमा परिणत गरी भव्य रूपमा संविधान जारी गर्ने तयारी गरेको छ। दोस्रो संविधानसभाको अन्तिम (१३५औं) बैठकलाई औपचारिक समारोहको रूपमा आयोजना गरी संविधान जारी गर्ने तयारी संविधानसभाको छ।
‘संविधानसभाबाट संविधान पारित भएपछि पनि एक–दुईवटा औपचारिक कार्यक्रम बाँकी थिए,’ संविधानसभा अध्यक्ष सुवास नेम्वाङले भने, ‘त्यसमध्येको एउटा काम आनुसांगिक मिलाउने हो, त्यो पूरा भएको छ। अब जारी गर्ने कार्यक्रम पनि औपचारिक हुनेछ।’

संवाद समितिका सभापति बाबुराम भट्टराई नेतृत्वमा रहेको आनुसांगिक समितिले संविधानको ४९ वटा ठाउँमा सामान्य शब्द मिलाएको थियो। संविधान जारी गर्ने दिनका लागि कुनै पनि विदेशी पाहुनालाई विशेष रूपमा बोलाइएको छैन।

‘काठमाडौंमै रहेका विभिन्न दूतावासका प्रतिनिधिलाई बोलाएका छौं,’ संविधानसभा सचिवालय स्रोतले भन्यो, ‘त्यसबाहेक विदेशबाट कसैलाई पनि बोलाइएको छैन।’

आइतबार बेलुका ५ बजेको बैठकमा सभासदलाई राष्ट्रिय र पहिचान झल्किने पोसाक लगाएर १५ मिनेटअघि नै आफ्नो स्थानमा बस्न आग्रह गरिएको छ। राष्ट्रपति ५ बजे संविधानसभामा विशेष सुरक्षा व्यवस्थासाथ प्रवेश गर्नेछन्। र, उनलाई सभाध्यक्ष नेम्वाङले मूलभवनको ढोकाबाट स्वागत गरेर संविधानसभा हलमा प्रवेश गराउनेछन्।

संविधानसभाको बैठक सुरु गरेर सभाध्यक्षले आफ्ना भनाइ राख्नेछन्। त्यसपछि संविधानसभा नियमावलीअनुसार राष्ट्रपतिले हस्ताक्षर गरेर जारी भएको घोषणा गर्नेछन्।