काठमाडौं । आइतवार जारी गरीने नयाँ संविधानमा सभासदहरुले हस्ताक्षर गरेपछि शुक्रबारै त्यसलाई संविधानसभाका अध्यक्षले प्रमाणिकरण गर्ने अधिकारीहरुले बताएका छन्।

दुई पटक संविधानसभा निर्वाचन गराएपछि आउन लागेको नयाँ संविधानका पाँच वटा प्रतिमा सभासदहरुले शुक्रबार हस्ताक्षर गर्ने कार्यक्रम छ। ‍

दुई-तिहाइ बहुमतले पारित गरेको नयां संविधान विधेयकका धाराहरुका भएका सामान्य त्रुटीहरु सच्याउनका गठन गरिएको अनुसांगिक समितीले प्राविधिक त्रुटीहरु मिलाएपछि नेपाली कागजमा नयाँ संविधानका पाँच वटा प्रति अभिलेखका लागी छाप्ने व्यवस्था छ।

हस्ताक्षर

ती सबै प्रतिहरुमा शुक्रबार सभासदहरुले हस्ताक्षर गर्ने कार्यक्रम छ, जुन संविधान जारी हुन अगाडी जननिर्वाचित प्रतिनिधिले गर्ने संविधानसभामा गर्ने अन्तिम कार्य समेत हुनेछ।

हस्ताक्षर गर्न लागि शुक्रबार विहान ९ बजे देखि ३ बजेसम्मको समय छुट्याइएको संविधानसभा सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए।

उनले भने, “सभासदहरुले हस्ताक्षर गरेपछि सभामुखले त्यसलाई प्रमाणिकरण गर्नुहुनेछ। त्यसपछि त्यो विधेयक संविधान बन्नेछ। अनि त्यसलाई असोज ३ गते राष्ट्रपति ज्युबाट संविधान प्रारम्भ भएको घोषणा हुने कार्यक्रम छ।”

सभासदहरुले हस्ताक्षर गरेपछि सभामुखले त्यसलाई प्रमाणिकरण गर्नुहुनेछ, त्यसपछि त्यो विधेयक संविधान बन्नेछ। अनि त्यसलाई असोज ३ गते राष्ट्रपति ज्युबाट संविधान प्रारम्भ भएको घोषणा हुने कार्यक्रम छ

भरतराज गौतम, प्रवक्ता, संविधानसभा सचिवालय

उक्त विधेयकमा कुनै सभासदहरुले हस्ताक्षर नगरेमा पनि नियमानुसार केही फरक नपर्ने पनि प्रवक्ता गौतमले बताए।

‘प्रारम्भ’

सभामुखले प्रमाणिकरण गरेको संविधानको दस्तावेजलाई आइतवार सांझ हुने औपचारिक कार्यक्रममा राष्ट्रपतिले हस्ताक्षर गरेपछि संविधान प्रारम्भ हुने प्रावधान छ।

आइतबार साँझ ५ बजेलाई बोलाइएको समारोहमा राष्ट्रपतिको कुनै औपचारिक सम्वोधनको कार्यक्रम नरहेको पनि संविधान सभा सचिवालयले जनाएको छ।

प्रवक्ता भरतराज गौतमले भने, “अनुसूची ७ मा छुट्टै ब्यवस्था छ। उहाँ (राष्ट्रपति) ले संविधानसभाबाट पारित भएको र संविधान सभाका अध्यक्षबाट प्रमाणिकरण भएको नेपालको संविधान ३ गतेबाट प्रारम्भ भएको नेपाली जनता समक्ष घोषणा गर्दछु भन्ने एउटा ढांचा छ। त्यसमा हस्ताक्षर गर्नुहुनेछ र उहाँको कार्यालयको छाप रहन्छ।”

सार्वजनिक घोषणा गरी जारी गर्न लागेको संविधानसभाको समापन समारोहमा

सभामुख सुवास नेम्वाङले धन्यवाद मन्तव्य दिने कार्यक्रम रहेको जनाइएको छ।BBC