काठमाडौं। संविधानसभाले दुई तिहाइभन्दा बढी मतका साथ नयाँ संविधान पारित गरेपछि आठ वर्षदेखिको अन्योल र आशंका अन्त्य भएको छ। संविधान पारित भएपछि शीर्ष नेताहरूले ७० वर्षदेखिको नेपाली जनताको आकांक्षा र चाहना पूरा भएको बताएका छन्।
दोस्रो संविधानसभाले बुधबार राति ८ बजेर ५७ मिनेटमा नयाँ संविधान पारित गरेको हो। असोज ३ गते साँझ ५ बजे संविधानसभामा आयोजना हुने राष्ट्रिय औपचारिक कार्यक्रममार्फत राष्ट्रपति डा.रामवरण यादवले नयाँ संविधान जारी गर्नेछन्।
एमाओवादीको १० वर्षे सशस्त्र आन्दोलन र ०६२÷०६३ को जनआन्दोलनपछि गठन भएको पहिलो संविधानसभा संविधान नबनाई विघटन भएको थियो। त्यसपछि ०७० मंसिर ४ गते दोस्रो संविधानसभा निर्वाचन भएको थियो।
दोस्रो संविधानसभाको ०७० माघ ८ गते बसेको पहिलो बैठकले एक वर्षमा संविधान बनाउने प्रतिबद्धता गरे पनि ६ महिना ढिलो संविधान पारित भएको छ। नयाँ संविधानमा ३७ भाग र ३०२ धारा छन्।
मस्यौदा समिति सभापति कृष्णप्रसाद सिटौलाले संविधानको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेपछि सभाध्यक्ष सुवासचन्द्र नेम्बाङले मत विभाजन गरी संविधानको विधेयकलाई मतदानमा लगेका थिए। उपस्थित पाँच सय ३२ सभासद्मध्ये पाँच सय सातले संविधानका पक्षमा मतदान गरेका थिए।
राप्रपा नेपालका २५ सभासद्ले विपक्षमा मतदान गरेका थिए।संविधान पारित गर्न तत्काल कायम पाँच सय ९८ को दुई तिहाइ (करिब चार सय) मत चाहिन्थ्यो।
मधेस केन्द्रित दलका ५७ सभासद्ले संविधान निर्माण प्रक्रिया बहिष्कार गरेका कारण उनीहरू अनुपस्थित थिए। कांग्रेसका प्रदीप गिरि र शिला खड्का तथा एमालेका राज्यलक्ष्मी गोल्छा मतदान प्रक्रियामा अनुपस्थित रहे। एमाओवादीका प्रभु साहले प्रक्रिया बहिष्कार गरेका थिए।
नयाँ संविधानको खुसीयाली मनाउन सरकारले दुई दिन सार्वजनिक विदा दिने तयारी गरेको छ। संविधानसभाले दुई दिन विदाका लागि सुझाव दिइसकेको छ। मन्त्रिपरिषद्‍को बिहीबार बस्ने बैठकले यसबारेमा निर्णय लिनेछ।

असोज ३ र ४  गतेलाई सरकारले सार्वजनिक विदा दिन लागिएको छ। निकै लामो संघर्ष र सकसपछि इतिहासमै पहिलोपटक जनताका प्रतिनिधि संविधान बनाएकोले यो विशेष अवसरलाई राष्ट्रिय चाडका रुपमा मनाउन सरकारले दुई दिन विदा दिन लागेको हो।