२९ भदौ, काठमाडौ । नयाँ संविधान असोज ३ गते बेलुकी ५ बजे जारी हुने भएको छ । संविधानसभामा भव्य समारोह गरी राष्ट्रपति डाक्टर रामवरण यादवबाट जारी गर्ने कार्यक्रम संविधानसभा सचिवालयले तयार पारेको  छ। योसँगै संविधानसभाबाट संविधान ल्याउने जनताको ००७ सालदेखिको चाहना पुरा हुने भएको छ ।

असोज ३ गते बेलुकी ५ बजे संविधान जारी गर्ने  राष्ट्रपतिलाई निम्तो दिन सोमवार संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ शीतल निवास जाने तय गरिए पनि राष्ट्रपतिले दिएनन् । व्यस्तताका कारण समय दिन नसकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

तर असन्तुष्ट दलका माग सम्बोधन नगरिएकोमा असन्तुष्ट रहेका दललाई त्यसैकारण समय नदिएको पनि चर्चा छ । ‘ त्यही समयमा प्रधानन्त्रीलाई भेट्ने कार्यक्रम तय भएकोले दिन नसकिएको हो । भोलिसमय मिलिहाल्छ ।’ राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने ।

संविधानसभाले नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ को ४ भाग र ५७ धारा पारित गरेको छ। आईतवारको बैठकले धारा १, २ र ३ पास गरेको थियो भने अरु धारा सोमवार पारित भएको हो । संविधानको विधेयकमा ३०२ धारा र ९ अनुसूची छन्।