काठमाडौं । नयाँ संविधान जारी गर्नका लागि संविधानसभामा सोमबार पनि बिहानदेखि नै मतदान भइरहेको छ। बिहान ११ बजे बसेको बैठकमा विभिन्न संशोधन प्रस्तावलाई अस्वीकृत गर्दै संविधानका विभिन्न धाराहरु पारित गरिएका छन्।

धर्मनिरपेक्षता खारेज गरी हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग संविधानसभाको बहुमतले अस्वीकृत गरेको छ । संविधान संशोधिक विधेयकको धारा ४ मा रहेको धर्मनिरपेक्षताको व्यवस्था खारेज गर्न राप्रपा नेपालले गरेको संशोधन प्रस्ताव ध्वनी मतको आधारमा अस्वीकृत भएको हो ।

संविधानसभाको बैठकमा सभाध्यक्ष सुबास नेम्वाङले संशोधन फिर्ता लिन राप्रपा नेपाल अध्यक्ष कमल थापालाई समय दिएका थिए । थापाले फिर्ता नलिने बताएपछि प्रस्ताव ध्वनी मतमा गएको थियो । बैठकमा सभासद भास्कर भदा र कुमार खड्काले पनि धर्मनिरपेक्षता खारेज गरी हिन्दू राष्ट्र कायम हुनुपर्ने प्रस्ताव राखेका थिए ।

राप्रपा अध्यक्ष थापाले बैठकमा आफ्नो प्रस्ताव मतदानमार्फत अघि बढाउन आग्रह गरे पनि सभामुख नेम्वाङले त्यसको लागि ६१ जना सभासदले प्रस्ताव राख्नुपर्ने बताए । धर्मनिरपेक्षता खारेज गरी हिन्दू राष्ट्र कायम गर्नुपर्ने पक्षमा संविधानसभाका २१ सभासद मात्रै थिए ।