सिरहा । मधेसी मोर्चाको प्रदर्शन हिंसात्मक हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले पूर्व-पश्चिम राजमार्गको सिरहा खण्डमा बिहीबार दिउँसोबाट कर्फ्यू लगाएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले जिल्लालार्इ दंगाग्रस्त क्षेत्र घोषणा गरी कर्फ्यू लगाएर नेपाली सेनाको टोली परिचालन गरेको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गर्दै आन्दोलन हिंसात्मक भएकाले शान्ति सुरक्षा र यातायात सञ्चालन गराउन मध्याह्न १२ बजेदेखि दंगाग्रस्त क्षेत्र घोषणासँगै अर्को आदेश नभएसम्म कर्फ्यू लगाएको हो ।

प्रशासनले जिल्लाको पूर्वी सीमा बलान खोलादेखि पश्चिम कमला नदी र दक्षिण भारतीय सीमाको लचकासम्म निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।

सूचनामा बलान नदीदेखि कमलासम्म दायाँबायाँ पाँच सय मिटर क्षेत्र र दक्षिण भारतीय सीमा क्षेत्रको लचकासम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।

निषेधित क्षेत्रमा सवारी साधन आवतजावतमा कुनै अवरोध नगर्न आग्रह गरिएको छ ।बुधबार साँझ प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागेर आठजना प्रदर्शनकारी घाइते भएका थिए ।