बिराटनगर। मधेसी मोर्चाका कार्यकर्ताको उग्र प्रदर्शनले बिराटनगर तनावग्रस्त बनेको छ । बिराटनगर भन्सारस्थित प्रहरी बिटमा रहेका दुई जना नेपाल प्रहरी र तीनजना सशस्त्र प्रहरीमाथि पेट्रोल खन्याएर जिउँदै जलाउन खोजेपछि तनाव शुरु भएको हो ।
घरेलु हतियारसहितका प्रदर्शनकारीले बिराटनगर भन्सारस्थित प्रहरी बिट तथा अन्य सरकारी तथा गैह्रसरकारी कार्यालयमा धावा बोल्न खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो ।
बिराटनगरको रोडशेष चोक, महेन्द्र चोकसहितका क्षेत्रमा प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गर्दै पत्रकार र प्रहरीमाथि आक्रमण गरेपछि बजार क्षेत्र तनावग्रस्त भएको छ ।
स्थिति तनावग्रस्त भएपछि १६ राउण्ड हवाइफायर गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सशस्त्र प्रहरीले १० राउण्ड र नेपाल प्रहरीले ६ राउण्ड हवाइफायर गरेको प्रहरी नायव उपरीक्षक प्रमोद खरेलले जानकारी गराए ।
सुनसरीको झुम्कामा अलपत्र करिब पाँच सय मालबाहक ट्रक र यात्रु बाहक वस सुरक्षाकर्मीले स्कटिंग गरी लाने तयारी गरेको थाहा पाएका बन्दकर्ताहरु बुधवार विहान पूर्वपश्चिम राजमार्गको सप्तरी भारदह खण्डमा रुख डाले । राजमार्गमा ढुँगामुढा र रुख तेर्साएर बन्दकर्ताहरुको ठुलो समूह भारदह चोकमा जम्मा भए।
गोली लागि भारदहसंग टासिएकै गाउँ पोर्ताहा १ का रामकिसुन राउत(५०)को मृत्यु भएको छ।