एजेन्सी । स्वाइन फ्लू भाइरसबाट सर्ने सरुवा रोग हो । अहिले यो भाइरस संसारका करिब दुई सय देशमा फैलिसकेको छ । पहिला पहिला पनि देखा पर्ने गरेको भएपनि यो सन् २००९ मा मात्र विश्वव्यापी भएको हो । विश्व स्वास्थ्य संगठनले यसलाई सामान्य मौसमी रुघाखोकीका रुपमा सन् २०१० मा प्रमाणित गरेपछि यसको नाम एचवान एनवान भाइरसको संक्रमणबाट सर्ने सरुवा रोग भएको हो ।

भाइरसबाट सर्ने रोग भएकाले यसको प्रभावकारी उपचार र औषधी छैन ।नेपालमा स्वाइन फ्लू दुई सिजन भदौ र असोज तथा फागुन चैतमा देखा पर्ने गरेको छ । अहिले मौसम परिर्वतनको समय भएकाले विशेष सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।

मौसम फेरबदल हुँदा मौसमी फ्लू अर्थात मौसमी इन्फ्लूएन्जा स्वाइन फ्लूको खतरा हुने गर्छ । ‘स्वाइन फ्लू सर्ने रोग भएकाले पूर्व सर्तकता अपनाउन आवश्यक छ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल अधिकृत डाक्टर शेरबहादुर पुनले भन्नुभयो ‘मौसम परिवर्तनको बेला रुघा खोकी लाग्ने, ज्वरो आउने भएमा विरामीले तुरुन्त स्वास्थ्य परिक्षण गर्नु पर्छ ।’

स्वाइन फ्लूका लक्षण

* स्वाइन फ्लूका लक्षण रुघाखोकीसँग मिल्दो जुल्दो नै हुन्छ ।

* लगातार नाकबाट पानी बगिरहने हुन्छ ।

*  लगातारजसो हाछ्युँ आउँछ ।

* शरिरमा कमजोरी, आलशयता, औषधी सेवन गरेपनि विरामीमा खोकी बढ्नु, घाँटी चिलाउनु, दुख्नु, गम्भीर अवस्थामा भने चलिरहेको शरिरको कुनै कुनै अंगले काम नगर्नु र अन्त्यमा विरामीको मृत्युसमेत हुन सक्छ ।

स्वाइन फ्लूले विशेष गरी मुटु, कलेजो, मृगौला, छातीको रोग भएका, मधुमेह, एचआइभी एड्स रोग लागेका, बढी रक्सी पिउने, गर्भवती, बढि मोटोपना भएका विरामीलाई असर गर्ने चिकित्सकले बताएका छन् । यो रोग लाग्दैमा ज्यान जान्छ भन्ने होइन तर यस्ता विरामीले बढि सचेत बन्नुपर्छ ।

स्वाइन फ्लू कसरी फैलिन्छ 

सुँगुरबाट मानिसमा सरेको हुँनाले घरपालुवा जनावर र सुँगुरको सम्र्पकमा रहनेमा भाइरस सर्ने संम्भावना बढि हुन्छ । हावाको माध्यमबाट पनि प्रभावित रोगी व्यक्तिबाट अर्को निरोगी व्यक्तिमा सर्न सक्छ । रोगीले खोक्दा, हाछ्युँ गर्दा किटाणु फैलिन्छ । साझा रुमाल, रेलिङ, रिमोर्ट, सवारीसाधनका समात्ने ठाउँहरुमा पनि भाइरस हुन सक्छन् जुन व्यक्तिको सम्र्पकमा आउँनाले सर्न सक्छ ।

कसरी जोगिने 

*    हिडडुल गर्दा मास्क लगाउने
*    बढि भिडभाडमा नजाने
*    रुघाखोकीका बिरामी भन्दा १ मिटर टाढा बस्ने, हात नमिलाउने
*     रुमालले नाकमुख छोपेर मात्र हाछ्युँ गर्ने
*    हात सफा गरिरहने
*    झोल पदार्थ धेरै खाने