भैरहवा। मधेसी मोर्चाले विगत तीन सातादेखि गरेको बन्द र हडतालको चपेटामा परेका भैरहवा-लुम्बिनी करीडोर र परासी क्षेत्रका उद्योग सञ्चालनको तयारी गरिएको छ।

 सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले बन्द, हडताल जे भए पनि बैंकले ऋणको ब्याज छुट नदिने हुनाले जस्तोसुकै अवस्थामा पनि उद्योग सञ्चालन गर्नुपर्ने अवस्था आएको बताए।
 साउन २८ गतेदेखि संयुक्त लोकतान्त्रिक मोर्चा, थरुहट संघर्ष समितिलगायत विभिन्न राजनीतिक दल तथा संगठनको आन्दोलनका कारण यस क्षेत्रको जनजीवन पूर्णरूपमा प्रभावित बनेको छ । यसले समग्र तराईको जनजीवनका साथै अर्थतन्त्रमा समेत गम्भीर प्रभाव परेको छ।
 लगातारको अनिश्चितकालीन बन्दका कारण उत्पादन ठप हुँदा उद्योगका पाटपुर्जामा खिया लाग्ने र जाम हुने समस्या देखिएपछि बन्दको अवज्ञा गर्दै यस क्षेत्रका उद्योगीले उद्योग सञ्चालनको तयारी गरेका हुन्।
सिद्धार्थनगर उद्योग वाणिज्य संघका सल्लाहकार समेत रहेका अध्यक्ष अग्रवालले लामो बन्दका कारण कच्चा मालभन्दा गाडी भाडा बढी पर्न थालेको बताए।
यसैबीच प्रमुख जिल्ला अधिकारीको अनुरोधमा जिल्ला सुरक्षा समितिको संयुक्त प्रयासमा भन्सार सरलीकरण गर्ने र सुरक्षा गस्तीबाट दैनिक दुई सयदेखि तीन सय ५० गाडी पास भई गन्तव्यतर्फ पुर्‍याउने कार्य भएको भैरहवा भन्सार कार्यालयका कर्मचारीले बताएका छन्।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले निर्वाधरूपमा उद्योग व्यवासाय सञ्चालन गर्न, शिक्षण संस्था, बजार खोल्न, यातायात सुचारु गर्न प्रहरी प्रशासनले जिल्लामा भरपर्दो रूपमा कडा सुरक्षा गस्ती परिचालन गरिरहेको बताए।