काठमाडौं । चिकित्साशिक्षा र सेवामा सुधारको माग गर्दै छैटौंपटक अनशन बसेका प्राध्यापक डा. गोविन्द केसीसँग पटकपटक सम्झौता गर्दै त्यसविपरीत निर्णय गर्दै आएको सरकार अन्ततः उनीसँग भएका सम्झौता कार्यान्वयन गर्न तयार भएको छ।
 पछिल्ला तीन दिन लगातार वार्तामा जुटेको सरकारले शनिबार मध्यरातमा डा. केसीसँग झुक्दै उनका सबै मागमा सहमति जनाएको छ।सहमतिपत्रमा हस्ताक्षर गरेपछि  मध्यरातमा प्रतिक्रिया दिँदै डा. केसीले आफूलाई अत्यन्तै खुसी लागेको बताए। ‘यो मेरोमात्र नभएर तीन करोड नेपाली जनताको जित हो,’ उनले हाँस्दै भने। तैपनि सरकारले फेरि आफूलाई झुक्याउन सक्नेमा सचेत रहेको उनले बताए।
‘सरकारले फेरि पनि झुक्याउन सक्छ,’ उनले भने, ‘म यसमा चनाखो छु, जबसम्म मसँग भएका सम्झौता कार्यान्वयन हुँदैन तबसम्म दबाब दिइरहन्छु।’ आइतबार ३ बजे अनशन तोड्ने जानकारीसमेत डा. केसीले दिए।
दिनभरजसो डा. केसी समर्थक चिकित्सकबीच एकपक्षीय छलफल भएपछि राति ८ बजे वार्ताका लागि शिक्षण अस्पताल पुगेका मुख्य सचिव सोमलाल सुवेदी तथा राष्ट्रिय योजना आयोगका उपध्यक्ष एवं पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख डा. गोविन्दराज पोखरेल र केसी समर्थक चिकित्सकबीच ११ बुँदे सम्झौता भएको हो।