काठमाडौं । बर्दियाको मैनापोखरमा शुक्रबार बिहान प्रहरी र थारु प्रदर्शनकारीबीच झडप हुँदा गोली लागेर प्रहरी हवल्दार देवबहादुर पाण्डेको मृत्यु भएको छ । प्रहरीले मकैबारीमा लुकेर गोली चलाएको बताएको छ । घटनामा दाङ्ग–लालमटीया–२ घर भई ईलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत प्रहरी हवल्दार देवबहादुर पाण्डे को मृत्यु भएको थियो । प्रारम्भिक समाचारमा भाला रोपेर मृत्यु भएको बताइएपनि गोली लागेर उनको मृत्यु भएको पुष्टि भएको थियो ।

मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआईजी केशव अधिकारीले बर्दियामा आयोजित पत्रकार सम्मेलनमा मकैबारीमा लुकेर प्रदर्शनकारीले चलाएको गोली प्रहरी हवल्दारको दाँया खुट्टाको तिघ्रा वारपार भई बायाँ खुट्टालाई समेत छेडेकाले अत्याधिक रक्तश्राव हुन गई मृत्यु भएको बताए ।

उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा पाण्डेको मृत्यु भएको थियो । ईप्रका मैनापोखरदेखि झण्डै २ सय मिटर पश्चिमतर्फ सडक किनारमै झडप हुँदा एक्कासी मकैबारीबाट गोलीको आवाज आए लगत्तै प्रहरी हवल्दारको खुट्टामा लागेको र त्यसपछि प्रहरीले हवाई फायर गर्दा गोली हान्नेहरु भागेको डिआईजी अधिकारीले बताए । घटनास्थल र घटनाबारे थप अनुसन्धन गरी दोषिलाई कडा कारवाही गरिने उनले बताए ।

काठमाडौं र अन्य जिल्लाबाट आएका रात्रिबसलाई सुरक्षा दिई सदरमुकाम गुलरीया पुर्‍याउन लागेका प्रहरी र बसलाई रोक्ने आन्दोलनकारीबीच मैनापोखरमा झडप भएको थियो । बस गइसकेपछि पनि त्यहाँ रहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा गरेको र त्यसक्रममा प्रहरीले लाठी चार्ज र अश्रु ग्याँस प्रहार गरेको पनि उनले बताए । त्यसैबेला मकैबारीतर्फबाट हवल्दार पाण्डेमाथि गोली प्रहार भएको डिआइजी अधिकारीले जानकारी दिए ।

प्रहरीले घट्नामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरेको छ । मैनापोखर १ बस्ने नरेश थारु, रामहर्स थारु र अविनास थारु लाई प्रहरीले पक्राउ गरेको हो ।

यता थरुहट÷थारुवान संघर्ष संयुक्त संघर्ष समतिले प्रहरीकै गोलीबाट हवल्दार देवबहादुर पाण्डेको मृत्यु भएको जनाएको छ। समितिका संयोजक धनिराम चौधरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ– आन्दोलनकारी उपर प्रहरी प्रशासनले दमन गर्ने क्रममा स्वयंले चलाएको गोली लागेर प्रहरी हवल्दारको दुःखद निधन भएकोमा हामीलाई अत्यन्तै मर्माहित बनाएको छ।’