संखुवासभा । संखुवासभामा ‘हन्टा’ नामक भाइरसका कारण एक सातामा तीनजना बालबालिकाको मृत्यु भएको छ । हन्टा भाइरसका कारण धुपु–५ की ८ वर्षीया कल्पना सुवेदी, पावा खोलाका १३ वर्षीय दीपक राई र नुमका ४ वर्षीय नाम खुल्न नसकेका एक बालकको मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर मदनकुमार उपाध्ययका अनुसार यो रोग संखुवासभा र भोजपुरमा देखा परेको छ । एक साता अगाडि धुपु गाविस ५ की ८ वर्षीया कल्पना सुवेदीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएपछि हन्टा भाइरस फैलिएको पत्ता लागेको उनले जानकारी दिए ।

बालिका सुवेदीको मृत्युपछि रोग नियन्त्रण महाशाखाद्धारा गरिएको परीक्षणमा हन्टा भाइरसको जीवाणु भेटिएको हो । हन्टा भाइरस मुसाबाट सर्ने जीवाणु हो । मुसाको दिशा–पिसाव वा मुुसाले खाएको खानेकुरा मानिसको मुखमा पर्दा भाइरस शरीरमा सर्ने डाक्टर उपाध्ययले बताए । एकदेखि पाँच सातासम्म रोगको लक्षण देखिने जानकारी पनि उनले दिए ।

यो रोग लागेमा सुरुमा ज्वरो आउने, हात–खुट्टा दुख्ने, आलस्य हुने जस्ता लक्षण देखिने चिकित्सकको भनाइ छ ।