काठमाडौं । सरकारले वैशाख १२ गतेको भूकम्पपछि देशका विभिन्न २४ स्थानमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) राखेको छ।
भूकम्पले हल्लाउँदा जमिनमा उत्पन्‍न हुने परिवर्तन र गति अध्ययन गर्न राष्ट्रिय भूकम्प मापन केन्द्रले काठमाडौंसहित भूकम्प प्रभावित जिल्लामा यस्ता केन्द्र स्थापना गरेको हो।जीपीएस स्टेसनमा उपलब्ध तथ्यांकका आधारमा भूकम्पका सम्भावना अनुगमन गर्नसमेत सघाउ पुर्‍याउने उद्देश्य केन्द्रले राखेको छ।
स्टेसन स्थापना गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्था तथा विश्वविद्यालयको संलग्नता छ । केन्द्रले यसअघि नै देशका विभिन्न २९ ठाउँमा यस्ता स्टेसन स्थापना गरिसकेको छ।
यी केन्द्र ताप्लेजुङदेखि दार्चुलासम्म छन्। वैज्ञानिकहरूले यिनै स्टेसनले संकलन गरेको तथ्यांकका आधारमा वैशाख १२ को महाभूकम्प तथा अन्य भूकम्पको प्रकृति र कम्पन अध्ययन गर्दै आएका छन्।
विश्वमा यस्ता स्टेसनको सहयोगमा भूकम्पको अध्ययन गर्ने प्रचलन धेरै वर्षदेखि चलिरहेको छ। नेपालमा वैज्ञानिकले तथ्यांक संकलनका लागि यस्ता स्टेसनको सहयोग लिए पनि भूकम्पको प्रक्षेपण भने असम्भव छ।
भूकम्पका कारण जमिन हल्लिँदा आएको परिवर्तन तथा कम्पनको गति नाप्न यस्ता स्टेसन उपयोगी हुने केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।गोरखा केन्द्रबिन्दु भएको भूकम्पलाई अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाका वैज्ञानिकले नजिकबाट गहिरो गरी अध्ययन गरिरहेका छन्।
नेपालमा आएको भूकम्पको प्रकृति नै अनौठो भएको उनीहरूको निष्कर्ष छ । विदेशी अनुसन्धान संस्थाका वैज्ञानिकले केन्द्रसँग नजिक भएर तथ्यांक संकलन गरिरहेका छन्।
गोरखा केन्द्रबिन्दु भएको भूकम्पले १ सय ४० किलोमिटर लामो रप्चर (फल्ट लाइन) बनाएको थियो। नयाँ जडान गरिएका जीपीएस स्टेसनले जमिनमुनि रहेका टेक्टोनिक प्लेटको गतिविधिसमेत अध्ययनका लागि सहयोग गर्ने अधिकारीले बताए।
भूकम्पछि वैज्ञानिकले पहिरोको अध्ययन गर्नसमेत जीपीएस स्टेसन स्थापना गरेका छन्। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धान संस्था मिलेर भूकम्पपछि पहिरोको जोखिममा रहेका स्थान तथा खोचमा अध्ययन केन्द्रित गरेका छन्।-अन्नपूर्ण पोस्ट्