१७ भदौ, काठमाडौं । कांग्रेस संसदीय दलले संविधान निर्माण प्रक्रिया र असन्तुष्टसँग वार्ता सँगसँगै अगाडि बढाउने निर्णय गरेको छ । तर, केही सभासद्ले संविधान निर्माण प्रक्रिया रोकेर असन्तुष्टलाई सहमतिमा ल्याएर जानुपर्ने माग गरेका थिए ।

संविधानसभा भवन बानेश्वरमा बुधबार बसेको बैठकले संविधान निर्माण प्रक्रिया नरोक्ने र यसबीचमा वार्ता पनि गर्ने निर्णय गरेको सभासद् गगन थापाले जानकारी दिए । केही सभासदले भने प्रक्रिया रोक्नुपर्ने धारणा राखेको उनको भनाइ छ ।

‘संविधान निर्माणको जारी प्रक्रिया नरोकी तत्काल संविधान जारी गर्नुपर्ने एकथरी सभासदहरुले धारणा राख्नुभयो । अर्कोथरी सभासदहरुले केहि समय प्रक्रिया स्थगित गरेर भए पनि सबैका माग समेटेर संविधान जारी गर्नुपर्ने धारणा राख्नुभयो,’ कांग्रेस सभासद गगन थापाले भने, ‘तर, बैठकले संविधानसभाको प्रक्रिया नरोकी अघि बढाउने निर्णय गरेको छ ।’ यसैगरी, बैठकले प्रमुख सचेतकमार्फत मात्रै संविधानको विधेयकमा संशोधन प्रस्ताव हाल्न पाउने निर्णय पनि गरेको छ ।

प्रमुख सचेतक मार्फत दर्ता गर्ने संशोधन प्रस्ताव पनि दुई तिहाई बहुमत पुग्छ कि पुग्दैन भन्ने होमवर्क गरेर मात्रै दर्ता गर्ने निर्णय भएको सभासद थापाले जानकारी दिए । ‘संविधानसभामा प्रस्तुत भएको संविधानको विधेयकमा संशोधन प्रस्ताव प्रस्तुत गर्दा अन्य दलहरुसाग छलफल गरी दुई तिहाई बहुमत पुर्‍याउने सुनिश्चित गरेर मात्र संशोधन प्रस्ताव प्रस्तुत गराउने जिम्मेवारी पार्टी नेतृत्वलाई दिने र संशोधन प्रस्ताव प्रमुख सचेतकले पार्टी नेतृत्वको निर्देशन बमोजिम प्रस्तुत गर्ने निर्णय गरियो ।’

बैठकपछि प्रमुख सचेतक चिनकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ । बैठकमा धेरैजसो तराई मधेश केन्द्रित सभासदहरुले धारणा राखेका थिए । उनीहरुले तराई कांग्रेसको पकड क्षेत्र भएकाले त्यहाँ देखिएको समस्या बार्तामार्फत समाधान गरिनुपर्ने बताएका छन् । अन्तरिम संविधान सबै दलको सहमतिको दस्तावेज भएकाले त्यसमा उल्लेखित प्रावधान नयाँसंविधानमा पनि उल्लेख गर्नुपर्ने उनहिरुको माग थियो ।