काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर लिग क्रिकेट प्रतियोगिता नेपालले तेस्रो जीत हात पारेको छ । क्वालालाम्पुरमा म‌ंगलबार भएको खेलमा नेपालले कुवेतलाई ८३ रनले पराजित गरेको हो ।

नेपालले प्रस्तुत गरेको दुई सय ५१ रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ६७ रनमात्रै जोड्न सक्यो । उसका लागि मोहमद् मीजानले अविजित ८४ रनको सानदार पारी खेले पनि टीमलाई जीतसम्म डोहोर्याउन सकेनन् ।

नेपालका प्रेम तामाङ र सुशील कंडेलले समान २ तथा दिपेन्द्र एेरी र आरिफ शेखले १-१ विकेट लिए । अन्य तीन ब्याट्सम्यान रन आउट भएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २५० रनको सम्मानजनक योगफल तयार पारेको थियो । ३४ रन जोड्दा ५ र ६६ रनमा ६ विकेट गुमाएको नेपालको पारी सातौं विकेटका लागि १ सय ३० रनको सानदार साझेदारी गर्दै दिपेन्द्र एेरी र सौरभ खनालले सम्हालेका थिए ।

त्यस क्रममा ९१ बलको सामना गरेका एेरीले ९ चौका र २ छक्कासहित ८५ तथा १ सय १५ बलको सामना गरेका खनालले ५ चौका र १ छक्काको मद्दतमा ७३ रन जोडे । यस्तै प्रेम तामाङ २३ रनमा अविजित रहे ।