एजेन्सी । कट्टरपन्थी संगठन इस्लामिक स्टेट (आईएस) का लडाकूहरुले ठूलो परिमाणमा विष्फोटक पदार्थ प्रयोग गरि  सिरियाको पल्माइरास्थित अर्को प्राचीन मन्दिरमा आक्रमण गरेका छन्।

आक्रमणबाट मन्दिरको ठूलो भागमा क्षति पुगेको स्थानियवासीले बताएका छन्।गतसाता आक्रमण गरिएको मन्दिर जस्तै उक्त मन्दिर पनि युनेस्कोको विश्व सम्पदा सूचीमा समेटिएको थियो।

बम आक्रमणपछि पल्माइराको बेल मन्दिरमा के कति क्षति पुग्यो भन्ने प्रष्ट छैन।तर अभियानकर्ता तथा प्रत्यक्षदर्शीहरुका अनुसार विष्फोटनको आवाज निकै ठूलो थियो।

पल्माइराका एक व्यक्तिले एसोसिएटेड प्रेस समाचार संस्थालाई भने, “आक्रमणबाट रोमन बेल मन्दिरमा पूरै क्षति भएको छ।”उनका अनुसार विष्फोटनको आवाज कान कम सुन्ने व्यक्तिले पनि सुन्न सक्ने खालको ठूलो थियो र विष्फोटनपछि बेल मन्दिरको भित्ता मात्रै बचेको छ।

प्राचीन सम्पदा

सो मन्दिर पल्माइराका देवी-देवतालाई समर्पित थियो र त्यस क्षेत्रको सबैभन्दा प्राचीन सम्पदा मानिन्थ्यो।गत साता इस्लामिक स्टेटले सार्वजनिक गरेको भिडिओमा पल्माइराको बालशमिन मन्दिर ध्वस्त भएको जस्तो देखिन्थ्यो।

ध्वस्त पारिएको मन्दिर करिव दुई हजार वर्ष पुरानो मानिन्छ।एक हजारभन्दा बढि आकर्षक स्तम्भ आदि रहेको त्यो सम्पदा क्षेत्रले पल्माइराको प्राचीन कला संस्कृति झल्काउँदथ्यो।

गत साताको आक्रमणलाई युनेस्कोले भर्त्सना गर्दै त्यो युद्ध-अपराध भएको बताएको थियो।सिरियाली द्वन्द्व सुरु हुनुअघि प्रत्येक वर्ष डेढ लाखभन्दा बढि पर्यटक पल्माइराको भ्रमणमा जाने गर्दर्थे।