धनगढी, ११ भदौ । ७ घण्टा लामो कफ्र्यु हट्नेबित्तिकै बिहीबार साँझ एकहुल युवा धनगढीको मुख्य बजार एलएन चोकमा भेला भए । उनीहरूको हातमा टीकापुरको हिंसामा मारिएका प्रहरी र बालकको तस्बिर थियो । सडक किनारमा एउटा बेन्चमाथि लहरै तस्बिर सजाएर उनीहरूले फूलगुच्छा अर्पण गरे, सडकमै शान्तिदीप बाले, स्वतःस्फूर्त रूपमा भीड बढ्दै गयो, प्रहरीहरू आए, उनीहरूलाई घेरा हाले । करिब आधा घण्टा चलेको कार्यक्रममा न कसैले भाषण गरे, न नाराबाजी । सबै मौन रहे । तर, उनीहरूका आँखा प्रश्न गरिरहेका थिए– घटनाका दोषीले कहिले सजाय पाउने ? कैलालीको जनजीवन कहिलेबाट सामान्य अवस्थामा फर्कने ? तर जवाफ कसैसँग थिएन ।

टीकापुरमा हिंसात्मक घटना भएको ४ दिन बितिसक्दा पनि कैलालीको जनजीवन सामान्य बन्न सकेको छैन । सोही दिनदेखि टीकापुरमा जारी कफ्र्यु अझै हटेको छैन भने १२० किलोमिटर टाढाको सदरमुकामा पनि प्रत्येक दिन बिहान ११ देखि साँझ ६ बजेसम्म कफ्र्यु लाग्दै आएको छ । त्यसभन्दा ठूलो कुरा आम मानिसका मनमा रहेको शंका र त्रास हट्नुको सट्टा बढ्दै गएको छ । स्थितिलाई सहज बनाउन सरकारी निकाय, राजनीतिक दल र सामाजिक संघसंस्थाहरूले अहिलेसम्म कुनै पहल गरेका छैनन् ।

घटनाको दोस्रो दिन सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले आफ्नै कार्यकक्षमा दिनहुँ घण्टौं लामो मिटिङ राख्ने गरेका छन् तर साँझ फेरि भोलि कफ्र्यु लाग्ने सन्देश सुनाउँदै मिटिङ सकिने गरेको छ । उत्पन्न जटिल परिस्थितिबारे यहाँका राजनीतिक दलहरूले कुनै सम्बोधन गरेका छैनन् । उनीहरूले सार्वजनिक रूपमा घटनाको विरोधसमेत गर्न सकेका छैनन् । “केन्द्रमा शेरबहादुर देउवा र भीम रावलले बोलेका कुरा नै हाम्रा स्टेटमेन्ट हुन्,” पार्टीका कार्यकर्ताले अनौपचारिक भेटघाटमा भन्ने गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकको नेतृत्वमा आएको टोलीले बिहीबार दिनभर टीकापुर क्षेत्रको अवस्थाबारे बुझ्ने काम गरेको छ । टोलीले टीकापुर इलाका प्रशासन, सशस्त्र र जनपद प्रहरी, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, थारु संघसंस्था र स्वतन्त्र बुद्धिजीवीसँग घटनाका विविध पक्षबारे जानकारी लिएको छ ।

संहारको ४ दिनपछि नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका आईजीपी कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी र गृह मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद ढकालले टीकापुरको स्थलगत भ्रमण गरेका छन् । उनीहरूले घटनाको दिन ड्युटीमा खटिएका जवान तथा अधिकृत, प्रत्यक्षदर्शी र सर्वसाधारणसँग घटनाबारे जानकारी लिए ।

टीकापुरमा कार्यरत प्रहरी अधिकृत तथा जवानलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले सोमबारको घटनाबाट कत्ति पनि विचलित नभई कर्तव्यमा अडिग रहन निर्देशन दिएका छन् । तर, अस्पतालमा उपचार गराइरहेका घाइतेहरूले राम्रो उपचार नपाएको, खाना नपाएको, घरका सदस्य आउन नसकेको अवस्थामा फेर्ने लुुगासमेत नपाएको भनी गरेको गुनासोको कुनै सुनुवाइ गरेनन् ।

टीकापुर घटनामा संलग्न अपराधीलाई कुनै पनि हालतमा पक्राउ गरी कानुनी दायरामा ल्याउन उनले आदेश दिएका छन् । सो घटनामा संलग्न भन्दै प्रहरीले पक्रेकामध्ये ७ जनामाथि बिहीबार ज्यान मुद्दा दायर भएको छ । त्यस बेलामा यहाँ कार्यरत जनपद र सशस्त्रका डीआईजी तथा प्रमुख जिल्ला अधिकारीको लापरबाहीले ठूलो क्षति भएको सबैतिरबाट पुष्टि भइसक्दा पनि उनीहरूमाथि गरिने कारबाहीबारे अर्याल केही बोलेनन् ।

यद्धपि सोमबारको टीकापुर घटनामा सुरक्षा कारबाहीमा प्रहरीको कमजोरी भएको प्रारम्भिक विश्लेषण गर्दै उनले स्वतन्त्र छानबिन गर्ने प्रतिबद्धता भने जनाए । उनीसँगै सुदूरपश्चिमका डीआईजी माधव नेपालले पनि टीकापुरको भ्रमण गरी वस्तुस्थितिबारे जानकारी लिएका छन् ।

“कफ्र्युले उकुमुकुस भएको दैनिकी कहिलेदेखि सामान्य अवस्थामा फर्कने हो भन्ने जवाफ प्रशासनले दिन सकेको छैन । यसले गर्दा जनतामा शंका र त्रास उत्पन्न भएको छ,” पश्चिमसेती क्याम्पसका उपप्राध्यापक डिल्लीराज जोशीले भने, “त्रासका बेला नागरिकहरूलाई आश्वस्त पार्न सकिएन भने ठूलो समस्या आउन सक्छ ।”

धनगढीमै पनि जनजीवन असामान्य रहेको अवस्थामा टीकापुरको अवस्था झन् सकसपूर्ण छ । कफ्र्यु  लागेकै बेला थारु समुदायका केही घर तथा व्यावसायिक प्रतिष्ठानमा प्रहार भएको छ । यसको क्षतिबारे स्वतन्त्र रूपमा तथ्यहरू आइसकेका छैनन् ।

अधिकारवादी पनि मौन, दैनिकी अस्तव्यस्त
संघीयतामा हकअधिकारका लागि दिनहुँ गोष्ठी र छलफल गर्ने संघसंस्थाहरू विषम परिस्थितिका बेला सद्भाव कायम गराउन आएका छैनन् । सामाजिक संस्थाहरूले यसका लागि आह्वान गरिदिए सहज हुने सुरक्षा अधिकारीको अपेक्षा छ । तर, एउटै ब्यानरमुनि सद्भाव ¥यालीसमेत आयोजना हुन सक्ने अवस्था छैन ।

साउन २२ देखि लगातार बन्द रहेको कैलाली टीकापुर संहारपछि झन् सन्त्रासमा छ । लामो समय यातायात बन्द भएकाले पेट्रोलियम पदार्थ र उपभोग्य वस्तुको अभाव सिर्जना भएको छ । “अनिश्चितकालको बन्दले यहाँको आर्थिक अवस्था झन् ओरालो लागेको छ,” जिफन्टका नेता देवबहादुर मल्लले भने ।

बन्द र कफ्र्यु लम्बिएपछि हुनेखानेदेखि गरीखाने वर्गसम्मका सबै प्रभावित भएका छन् । घटनापछि टीकापुर क्षेत्रबाट प्रकाशन हुँदै आएका पत्रपत्रिका पनि बन्द भएका छन् । टीकापुरबाट ५ वटा पत्रिका प्रकाशन हुँदै आएका छन् । रेडियो फूलबारी एफएममा भएको तोडफोडपछि त्यसको प्रसारणसमेत बन्द भएको छ ।

सुरक्षाको प्रत्याभूति नभएपछि जनतामा त्रास कायमै रहेको टीकापुरका स्थानीय दुर्गा भण्डारी बताउँछन् । “दुवै पक्षका जनतामा रहेको त्रास हटाउन दलहरूले भूमिका खेल्नुपर्छ,” उनी भन्छन्, “कफ्र्युका कारण स्थिति सामान्य देखिए पनि मनदेखि नै सामान्य बन्न सकेको छैन । अहिले पनि दिउँसो थारु समुदायका मानिस डराउने र राति पहाडी समुदायका मानिस डराउने अवस्था छ । यसको तत्काल अन्त्य गर्न सरोकारवाला निकाय र दलहरूले सद्भाव कायम गर्नुपर्छ ।”

टीकापुरकै अर्का बासिन्दा गंगाराम चपाईं भन्छन्, “बुधबारसम्म त धन र जनको ठूलो क्षति हुन्छ जस्तो लागेको थियो तर आज केही सामान्य देखिएको छ तर यो दीर्घकालीन समाधान होइन । राजनीतिक समस्या भएकाले राजनीतिक तवरबाटै समाधान आवश्यक छ ।”
दंगाग्रस्त क्षेत्रका जनता घरबाहिर निस्कन सक्ने अवस्था नभएकाले निकै सास्ती झेल्नु परेको जोशीपुरकी सीरा चौधरीले बताइन् । दंगाग्रस्त क्षेत्र हटाई सामान्य बनाउने काममा सरकार र राजनीतिक पार्टीहरू लाग्नुपर्ने उनको भनाइ छ ।

दंगाग्रस्त अर्काे गाविस थापापुरका बासिन्दा तथा नेपाली कांग्रेसका नेता तेजराम चौधरी सामाजिक सद्भाव भड्किने गरेर कसैले पनि गतिविधि गर्न नहुने बताउँछन् । “लामो समयदेखि एकै ठाउँमा बस्दै आएका थारु र पहाडी समुदायबीच फाटो ल्याउने काम हुँदैछ, त्यसबाट बच्न दुवै समुदाय सचेत हुनुपर्छ,” उनले भने ।

केही राजनीतिक दलका नेताहरूले टीकापुरमा आएर गरेको भाषणप्रति विमति जनाउँदै उनले चौधरी समुदायलाई लडाउन जिम्मेवार नेताहरू त्यसरी लाग्नु दुर्भाग्यपूर्ण रहेको बताए । “थारु, पहाडी भाइभाइ, कोही छैन पराई भन्ने भावनाबाट अघि बढ्नुपर्ने बेला आएको छ,” उनी भन्छन्, “हामी आपसमा जुध्यौं भने देश कमजोर बन्छ, देश कमजोर भयो भने हाम्रो अस्तित्व पनि कमजोर हुन्छ । यो कुरालाई मध्यनजर गर्दै थारु, पहाडी अघि बढ्ने बेला आएको छ ।”

कफ्र्यु र दंगाग्रस्त क्षेत्र घोषणा गर्नु समाधान नभएकाले जनजीवन सामान्य बनाउनतिर लाग्नुपर्ने नेकपा एमालेका नेता तथा धनसिंहपुर गाविसका बासिन्दा मीनबहादुर कठायत बताउँछन् । हालसम्म दंगाग्रस्त क्षेत्रमा कुनै पनि राजनीतिक दल तथा सुरक्षा निकायका अधिकारी नपुग्दा जनतामा थप निराशा देखिएको मुनुवा गाविसका वीरबहादुर चौधरीले बताए ।

टीकापुरलगायत क्षेत्रमा लगाइएको कफ्र्यु केही खुकुलो बनाउनुपर्ने मागसमेत स्थानीयले गरेका छन् । ४ दिनदेखि २४ घण्टे कफ्र्युका कारण दैनिक उपभोग्य वस्तु लिन नपाउँदा समस्या थपिएको छ । कफ्र्यु केही समय सहज बनाउनुपर्ने उनीहरूको माग छ । धनगढीमा पनि लाग्दै आएको कफ्र्यु हटाएर निषेधाज्ञा लगाउनुपर्ने माग स्थानीयको छ ।

यसैबीच, कफ्र्यु अवज्ञा गरेको भन्दै सुरक्षाकर्मीले गोली चलाउँदा कैलालीको दुर्गौलीमा बिहीबार १ जना घाइते भएका छन् । कैलाली फल्लेविसौनाका जगत देवकोटाको घुँडा र तिघ्रामा गोली लागेको छ ।
टीकापुरमा भएको हिंसात्मक झडपपछि कैलालीका विभिन्न ठाउँमा कफ्र्यु लगाइएको छ भने सेनासमेत परिचालन गरिएको छ । टीकापुर र आसपासका १० गाविसलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

सोमबार भएको झडपमा परी गम्भीर घाइते भएका प्रहरी हवल्दार जनक नेगीको उपचारका क्रममा बिहीबार राजधानीमा निधन भएको छ । गम्भीर घाइते भएका उनलाई सेनाको हेलिकप्टरमा काठमाडौं लगिएको थियो । उपचारको क्रममा नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उनको मृत्यु भएपछि मृत्यु हुने प्रहरीको संख्या ८ पुुगेको छ । सेती अञ्चल प्रहरी गुल्ममा दरबन्दी रहेका उनी कञ्चनपुर झलारीका बासिन्दा हुन् । स्रोत कारोबार