काठमाडौं । शुक्रबारबाट मलेसियाको क्वालाम्पुरमा सुरु हुने एसीसी अण्डर नाइन्टीन प्रिमियरमा सहभागी हुने अण्डर नाइन्टिन राष्ट्रिय क्रिकेट टोलीलाइ बिदाइ गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव दिपेन्द्र नाथ शर्मा र नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले मंगलबार नेपाली युवा टोलीलाइ बिदाइ गरेका हुन् ।

राजु रिजालको कप्तानीमा रहेको १४ सदस्यीय टोलीले उपाधिका लागि ४५ दिनको तयारी गरेको छ । नेपाली टोली शारीरिक र मानसिक रुपमा प्रतियोगिताका लागि तयार रहेको प्रशिक्षक जगत टमाटाले बताए । प्रतियोगितामा नेपाल सहित अफगानिस्तान, युएइ, मलेसिया, साउदी अरेबिया र कुबेत रहेका छन । उमेर समुहमा सबै टोलीको स्तर उस्तै हुने र नेपालले स्कोर बोर्डमा २ सय कटाए जीत हात पार्ने टमाटाको भनाइ छ । राष्ट्रिय टिमको आधार रहेको उमेर समुहको टोलीमा पनि परम्परागत ब्याटिङ समस्या भने उस्तै रहेको प्रशिक्षक टमाटाले बताए ।

टमाटाले मध्यक्रमको ब्याटिङ लाइनअप राम्रो भएपनि ओपनिङ जोडीको प्रदर्शन भने ८० प्रतिशत मात्र भएको प्रतिकृया दिए । कप्तान राजुले मैदानमा कडा मेहनत गरेर सबैको अपेक्षा पूरा गर्ने सक्दो प्रयास गर्ने भनाइ राखे । छनौट प्रतियोगिता बिनानै तयार पारिएको नेपाली टोलीमा आरिफ सेख,दिपेश श्रेष्ठ, सौरभ खनाल, प्रेम तामाङ, सुसिल कंडेल, दिपेन्द्र ऐरी, सुनिल धमला, शंकर लामा, योगेन्द्र सिंह कार्की, सन्दीप सुनार, रविराज सिंह, ललित नारायण राजबंशी र आषिश धामी रहेका छन । नेपालले आफ्नो पहिलो खेल आगामी शुक्रबार युएइ संग खेल्नेछ ।